यमनको बाढीमा १६ को मृत्यु, खोजी जारी

यमनको विद्रोही नियन्त्रित जिल्लामा आएको बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको र बेपत्ता भएका अन्यको खोजी कार्य जारी रहेको विद्रोही सञ्चारमाध्यमले बिहीबार बताएको छ ।

इरान समर्थिक हुथी विद्रोहीहरूको अल–मसिरा टेलिभिजनले एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै नागरिक सुरक्षा टोलीले राजधानी सनाको पश्चिममा अल–महवित प्रान्तमा बेपत्ता भएका ३८ मध्ये १६ को शव फेला पारेको बताएको छ।

प्रान्तको मेलहान जिल्लामा मङ्गलबार राति मुसलधारे वर्षाले पहिरो जाँदा घर र व्यवसायमा केही व्यक्तिलाई पुरेको थियो।

विद्रोही प्रशासनका उपप्रधानमन्त्री मोहममद मिफ्ताहले अल–मसिरालाई भने –बाढीले सडक बन्द हुँदा उद्धार टोलीहरूको आगमनमा धेरै घन्टासम्म अवरोध भयो ।

एक सातादेखि उच्च पहाडी प्रान्तहरूमा भइरहेको अविरल वर्षाले लाल सागर तटस्थित छिमेकी होडेडा प्रान्तलाई पनि प्रभावित बनाएको छ ।

पश्चिमी यमनका पहाडहरू भारी मौसमी वर्षाको जोखिममा छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार जुलाईको अन्त्यमा अचानक आएको बाढीले यमनमा ६० जनाको मृत्यु भएको छ भने दुई लाख ६८ हजार प्रभावित भएका छन् ।

आगामी महिनाहरूमा मध्य उच्च भूमि, लाल सागरको तटीय क्षेत्र र दक्षिणी माथिल्लो भूभागका केही क्षेत्रमा तीन सय मिलिमिटर (१२ इन्च) भन्दा धेरै अभूतपूर्व स्तरमा वर्षा हुने अपेक्षा गरिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार चेतावनी दिएको थियो ।

राष्ट्रसङ्घले यसै महिनाको प्रारम्भमा युद्धग्रस्त यमनमा चरम मौसमको आपत्कालीन प्रतिक्रिया मापन गर्न तत्काल ४९ लाख डलरको आवश्यकता रहेको चेतावनी दिएको थियो ।

जलवायु परिवर्तनका कारण विद्रोहीहरूको नियन्त्रणमा रहेको अधिकांश यमनी उच्च क्षेत्रमा मौसमी वर्षाको आवृत्ति र तीव्रता बढिरहेको छ ।

एजेन्सी

Comments

Back to top