बाइडेन र सीबीच वार्ताको तयारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आगामी केही हप्तामा वार्ता गर्न आतुर रहेको ह्वाइट हाउसका शीर्ष सहयोगी जेक सुलिभानले बताएका छन्।

सन् २०१६ पछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले बेइजिङमा तीन दिनसम्म चलेको वार्तापछि सीसँग भेटवार्ता गरेका छन् ।

अमेरिकी सहयोगी जापान, फिलिपिन्ससँग चीनको सुरक्षासम्बन्धी विवाद बढेका समय सुलिभानले बेइजिङको भ्रमण गरेका हुन् ।

बेइजिङको अलङ्कृत ‘ग्रेट हल अफ द पिपुल’मा बिहीबार सीसँगको भेटमा उनले भने, “राष्ट्रपति बाइडेन आगामी हप्ताहरूमा तपाईंसँग फेरि संवाद गर्न उत्सुक हुनुहुन्छ ।

उनले अगाडी भने, “राष्ट्रपति बाइडेन साउथ चाइना सी क्षेत्रमा देखिएको समस्यालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र यसका कारण प्रतिस्पर्धा द्वन्द्व वा मुठभेड नहोस् भन्नेमा प्रतिबद्ध हुनुहुन्छ । राष्ट्रपति बाइडेनले जहाँ आफूहरूको हित मिल्छ त्यहाँ मिलेर काम गर्न सकियोस् भन्नेमा दृढ हुनुहुन्छ ।”

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चीन र अमेरिकाबीच वैचारिक भिन्नताका रहेपनि यसलाई वार्ता र छलफलका माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिनेमा चीन विश्वस्त रहेको भेटमा चिनियाँ राष्ट्रपति सीले सुलिभानसँग बताएका छन् ।

“चीन–अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासको लक्ष्यप्रति चीनको प्रतिबद्धतामा कुनै परिवर्तन आएको छैन,” भेटमा सीले भने ।

“हामीलाई विश्वास छ अमेरिका र चीनले मिलेर अघि बढ्नेछन्,” चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै सुलिभानले भने।

बुधबार सुलिभान र उच्च कूटनीतिज्ञ वाङले आफ्ना नेताहरूले आगामी हप्ताहरूमा वार्ता गर्ने योजनाबारे छलफल गरेका थिए।

पछिल्लो समय विवादित सामुद्रिक क्षेत्रमा चीनको बढ्दो आक्रामक दृष्टिकोणलाई लिएर उनीहरूबीच तनाव बढेको देखिन्छ ।

एजेन्सी

Comments

Back to top