अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना घटाउँदै अष्ट्रेलिया

अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकमाझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मंगलबार घोषणा गरेको छ ।

अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यावसायिक शिक्षा र प्रशिक्षण (भीईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैरविश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ ।

शिक्षामन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाएका छन् । उनले निर्धारित सीमाहरू, संसद्ले पारित गर्ने बताउँदै अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या सन् २०१९ को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिएका छन् ।

घोषणाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको कोटा पूरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्छन् । घोषणा शिक्षा प्रणालीलाई अझ प्रभावकारी र निष्पक्षरूपमा स्थापना गर्ने प्रयत्नशील रहेकाले केही विश्वविद्यालयलाई मात्र नभई सम्पूर्ण क्षेत्रलाई लाभान्वित गर्ने क्लेयरले उल्लेख गरेका छन् ।

यसअघि सत्तारुढ लेबर पार्टीले सन् २०२२/२३ मा अस्ट्रेलियाको कुल आप्रवासन संख्या पाँच लाख २८ हजारबाट घटाएर सन् २०२४/२५ सम्ममा दुई लाख ६० हजार बनाउने रणनीतिसहित अन्तर्राष्ट्रिय विद्यार्थी संख्या सीमित गर्ने योजना घोषणा गरेको थियो । रासस

Comments

Back to top