आँखुखोला जलविद्युतको १ करोड २० लाख कित्ता हकप्रद आइतबारदेखि बिक्री खुला
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर आइतबारदेखि बिक्री खुला भएको छ । कम्पनीले १५० प्रतिशत अर्थात् १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता शेयरका दरले हकप्रद निष्काशन गर्ने भएको हो ।
कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर जारी गरेको हो । यी हकप्रद शेयर खरीदका लागि भदौ १६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार ३१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । हकप्रद शेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
एजेन्सी
Comments