भारतमा केन्द्रीय बैंकले ब्याजदर स्थिर राख्यो
भारतीय केन्द्रीय बैैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले यस पटक पनि ब्याजदर छ दशमलव पाँच प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ । आरबीआईले लगातार ९औँ पटक ब्याजदर स्थिर राखेको हो । आरबीआईले सन् २०२३ फेब्रुअरी यता ब्याजदर बढाएको छैन । त्यसबेला ब्याजदर शून्य दशमलव २५ प्रतिशत बढाएर साढे छ प्रतिशत पुर्याएको थियो ।
त्यसयता मौद्रिक नीति समितिले नौ पटकसम्म ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । मुद्रास्फीति नियन्त्रणमा आईनसकेकोले ब्याजदर स्थिर राख्ने निर्णय गरेको बताइएको छ । ब्याजदर स्थिर राख्दा ऋण महँगो हुने छैन र ईएमआई पनि बढ्ने छैन ।
अगस्ट ६ देखि चलेको मौद्रिक नीति समितिको बैठकमा भएका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै आरबीआई गभर्नर शक्तिकान्त दासले ब्याजदर स्थिर राखिएको जानकारी दिएका हुन् । यो बैठक प्रत्येक दुई महिनामा बस्ने गर्छ । गभर्नर दासले मुद्रास्फीति घट्दै गएको तर सुस्त र असमान रहेको बताएका छन् । मुद्रास्फीति लक्ष्यमा रहिरहने सुनिश्चित नहुँदासम्म सतर्क रहनुपर्ने उनले बताए ।
एजेन्सी
Comments