श्रीलंकाले सवारीसाधन आयातमाथिको प्रतिबन्ध हटाउने

भन्सार शुल्कमार्फत राजस्व बढाउन खोजेको श्रीलंकाले सन् २०२५ देखि चरणबद्धरूपमा सवारीसाधन आयात गर्न अनुमति दिने राष्ट्रपति रनिल विक्रमासिंघेले बुधबार बताएका छन् । उनले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्धलाई क्रमशः हटाउन अनुमति दिँदै राष्ट्रको भण्डार निर्माण भइरहेको बताए ।

डिसेम्बर सन् २०२३ को अन्त्यमा कुल सञ्चिति चार अर्ब ४० करोड डलरबाट बढेर सन् २०२४ जुनको अन्त्यमा पाँच अर्ब ७० करोड अमेरिकी डलर पुगेको आधिकारिक तथ्यांकले देखाएको छ । गत हप्ता श्रीलंकामा अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) प्रतिनिधिमण्डलले मोटर वाहनहरूमा आयात प्रतिबन्धको योजनाबद्ध छुटले सन् २०२५ मा राजस्व परिचालनलाई समर्थन गर्ने बताएको थियो ।

कर प्रशासन सुधारहरूले सन् २०२५ अप्रिलसम्ममा निर्यातकर्ताहरूका लागि राम्रोसँग काम गर्ने भ्याट फिर्ता प्रणाली स्थापना गरी अनुपालनलाई अझ सुधार गर्नसक्ने आईएमएफले जनाएको छ । यसअघि अर्थराज्यमन्त्री रञ्जित सियाम्बालापिटियाले आयात प्रतिबन्ध कसरी फुकुवा गर्ने भन्ने विषयमा अगस्ट दोस्रो सातामा निर्णय हुने बताएका छन् ।

एजेन्सी

Comments

Back to top