बीआरआई छिट्टै पारित हुने प्रधानमन्त्री प्रचण्डको भनाइ, १.५ प्रतिशत ब्याज तिर्न तयार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ले १.५ प्रतिशत भन्दा धेरै ब्याजमा ऋण नलिने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् । 

नेपाली कांग्रेसका अर्का सांसद बद्री पाण्डेले बीआरआईबाट लिइने ऋण महँगो भएको भन्दै नेपालले कति प्रतिशतमा ऋण लिन्छ भन्दै प्रश्न सोधेका थिए । 

पाण्डेले विश्व बैंक र एसियाली विकास बैंकको ऋणको औसत ब्याजदर १ प्रतिशत भन्दा कम नै भएको र बीआरआईको ऋण औसतमा पनि ४ प्रतिशत रहेको भन्दै कति प्रतिशतमा ऋण लिने हो भनेर सोधेका थिए । जवाफमा उनले यस्तो जवाफ दिएका हुन्।

कांग्रेसका अर्का सांसद रामहरि खतिवडाले बीआरआई परियोजना अघि बढाउने सम्बन्धमा आजभोलि नै हस्ताक्षर हुन लागेको भन्ने सम्बन्धमा प्रधानमन्त्रीसँग प्रश्न सोधेका थिए । जवाफमा उनले यो प्रक्रिया अघि बढिरहेको भन्दै आज भोलिमै नभए पनि छिट्टै पारित हुने बताए ।

दाहालले सकेसम्म बीआरआई परियोजनाहरु अनुदानमै लिन चाहेकोसमेत उनले उल्लेख गरे । अहिले नेपालले लिएको वैदेशिक ऋणको औसत ब्याजदर ०.९३ प्रतिशत रहेको छ । चीनको एक्जिम बैंकले पोखरा एयरपोर्टका लागि दिएको ऋणको ब्याजदर ५ प्रतिशत रहेको देखिएको छ ।

एजेन्सी

Comments

Back to top