जलहरी प्रकरणमा सफाइपछि थापाले गरे पशुपतिको विद्युत शवदाह निःशुल्क गर्ने निर्णय

पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित थापासहित तीन जनालाई सफाइ दिएसँगै उनले कार्यभार ग्रहण गरेका हुन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार कोषका सदस्य सचिव डा थापासहित कोषको तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र  कोषको स्टोर किपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकोे थियो ।  

अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै रु एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

एजेन्सी

Comments

Back to top