नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने

नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि पुस १६ गते सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी चैत २० गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

यो ट्रेजरी २०८१ असार १९ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

यो ट्रेजरी २०८१ पुस १६ गते परिपक्व हुनेछ ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

Comments

Back to top