सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित
२०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ ।
नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी डिजिल (विद्युतीय) कारोबार गर्न सफल भएको छ ।
यसै सन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आईतबार साँझ सम्मानित गरेको छ ।
एक विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका हुन् ।
सो अवसरमा बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको उल्लेख गरे ।
बैंकले अन्तर्राष्ट्रिय स्तरको उन्नत बैंकिङ प्रविधिमा आधारित कोर बैंकिङ सफ्टवेयर भित्र्याउन आईटी इन्हान्समेन्ट रोडम्याप अन्तर्गत कार्य समेत गरिरहेको बताए । उनले बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्नसमेत अनुरोध गरे ।
यस बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा र ६९ वटा एक्स्टेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
Comments