एनआईसी एसिया बैंकमा कर्जाको अधिकतम प्रिमियम अब ३ % मात्रै

एनआईसी एसिया बैंकले ऋणी ग्राहकलाई राहात हुने हिसाबले कर्जाको अधिकतम प्रिमियम अब ३ प्रतिशत मात्रै लिइने जनाएको छ।

बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरिएको जनाएको हो।

यस सहुलियतपश्चात यसअघि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको बैंकले जनाएको छ।

बैंकको मंसिर महिनाको औसत आधारदर १०.७ प्रतिशत रहेको छ। त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरु जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जामा लागू हुने व्यवस्था गरिएको छ।

आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई उनीहरुलाई कर्जा भुक्तानीमा सहज हुने बैंकले विश्वास लिएको छ।

 

Comments

Back to top