वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’
देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ । एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले कात्तिक २८ गते दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रम माझ कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो ।
एसोसिओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए । कर्णाली लगायत देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्याउन महत्त्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याएको भन्दै कम्पनीलाई यो अवार्डले सम्मानित गरेको हो ।
एसोसिओमा न्युजिल्यान्ड, जापान, अस्ट्रेलिया, भारत, सिङ्गापुर, चीन नेपाल लगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका सङ्घसंस्था सदस्यको रूपमा रहेका छन् । यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरुलाई प्रदान गरिंदै आएको छ । वर्ल्डलिङ्कले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड बाट सम्मानित भइसकेको छ ।
Comments