नेपाल बैङ्क लिमिटेड ८७ औँ वर्षमा प्रवेश

सरकारी स्वामित्वको नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड ८७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८७ औँ वार्षिकोत्सवका अवसरमा आमनेपालीलाई सरल र सहज रूपमा अझ बढी प्रभावकारी, गुणस्तरीय, आधुनिक प्रविधिमैत्री एवं विश्वसनीय बैङ्किङ सेवा प्रदान गर्दै राष्ट्रको उन्नति र प्रगतिमा अझ धेरै सहकार्य गर्ने र देशकोे आर्थिक निर्माणमा सारथि बन्ने प्रतिबद्धता बैङ्कले व्यक्त गरेको छ ।

हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी बाह्य स्रोतसमेत करिब तीन हजार छ सय कर्मचारी मार्फत आधुनिक बैङ्किङ सेवा विस्तारमा आक्रमक ढङ्गले प्रस्तुत भएको जनाउँदै बैङ्कका प्रवक्ता प्रकाशकुमार अधिकारी बैङ्कले २२८ शाखामार्फत कारोबार, २०४ वटा एटिएम तथा ५८ वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको बताउँछन्।

बैङ्कले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन पनि सफल भएको भन्दै उनले बैङ्कका सबै वित्तीय सूचक स्वस्थ र सन्तुलित देखिनुका साथै हरेक वर्ष ती सूचकमा उल्लेख्य प्रगति भइरहेको बताए । ८७ वर्षअघि आठ लाख ४२ हजार रुपियाँबाट सुरु भएको बैङ्कको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड छ ।

विसं २०८० असार मसान्तसम्म दुई खर्ब ४४ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बैङ्क सफल भएको छ । प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ ।

बैङ्कको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपियाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात १४.४९ प्रतिशत र ३६ अर्ब ५८ करोडभन्दा बढी नेटवर्थ रहेको छ ।

Comments

Back to top