आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई १ करोड ५० लाखको चेक हस्तान्तरण
आइएमई ग्रूप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।
अध्यक्ष ढकालले मंगलबार ग्लोबल आइएमई बैंक लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रूपबाट प्रबर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा अर्थमन्त्री डा. प्रकाश शरण महत र मुख्यसचिव डा बैकुण्ठ अर्याल समेतको उपस्थिति थियो ।
साथै, भूकम्प प्रभावित क्षेत्रमा आइएमई ग्रूप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।
Comments