नेपाल विद्युत् प्राधिकरणद्वारा एक महिनामै ४ अर्बको विद्युत् भारतलाई बिक्री
नेपाल विद्युत् प्राधिकरणले एक महिनामै ४ अर्बको विद्युत् भारतलाई बिक्री गरेको छ । प्राधिकरणले असोज महिनामा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरेको हो। जुन ६ महिना यताकै उच्च निर्यात हो । प्राधिकरणले गत जेठ २८ गतेदेखि भारतीय बजारमा विद्युत् बिक्री सुरु गरेको थियो ।
यो वर्ष प्राधिकरणले १६ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात हुन सक्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,– अहिलेको अवस्थालाई हेर्दा यो वर्ष हामीले १६ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात हुन सक्ने देखिएको छ । थप विद्यूत निर्यातका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरिएको छ ।
उनका अनुसार थप १०० मेगावाट विद्युत् निर्यात स्वीकृतिका लागि भारतसँग प्रस्ताव गरिएको थियो । तर, अहिलेसम्म स्वीकृति नभएकाले पुनः पठाएका घिसिङले बताए । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम- एनभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
Comments