दुई सरकारीसहित ९ वटा बैङ्कको आधार दर १० प्रतिशत भन्दा तल

झन्डै एक दर्जन बैङ्कहरूको बेस रेट अर्थात् आधार दर एकल अङ्कमा झरेको छ । दुई सरकारीसहित ९ वटा बैङ्कको आधार दर १० प्रतिशत भन्दा तल छ । 

हाल स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, एभरेष्ट, नबिल, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ एनएमबि र सानिमा बैङ्कको आधार दर एकल अङ्कमा देखिएको हो । 

बेस रेटका आधारमा हाल सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको पैसा चलाउने सकिने देखिएको छ । बैङ्कको आधार दर ८.६७ प्रतिशत रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको आधार दर ८.७० प्रतिशत, एभरेष्टको ९.३३ प्रतिशत, नबिलको ९.५४ प्रतिशत, नेपाल बैङ्कको ९.६५, नेपाल इन्भेष्टमेन्टको ९.७९, सिद्धार्थको ९.८३, एनएमबिको ९.८५ र सानिमा बैङ्कको ९.९२ प्रतिशत रहेको छ । यी बैङ्कहरूबाट कर्जा लिँदा अन्यको बैङ्कको तुलनामा सस्तो ब्याज पर्न जानेछ । 

बेस रेटकै आधारमा भने एनआइसी एशिया, कुमारी, हिमालयन र लक्ष्मी सनराइजबाट ऋण लिँदा महँगो ब्याज तिर्नुपर्ने देखिएको छ । हाल यी बैङ्कहरूको आधार दर क्रमशः १०.९६ प्रतिशत, १०.९४ प्रतिशत, १०.८८ प्रतिशत र १०.८३ प्रतिशत रहेको छ । 

यस्तै, हाल माछापुच्छ्रे बैङ्कको आधार दर १०.०१ प्रतिशत, ग्लोबल आइएमईको १०.०९ प्रतिशत, प्रभु बैङ्कको १०.१८, कृषि विकासको १०.३४, नेपाल एसबिआईको १०.४२, सिटिजनको १०.६८  र प्राइम कमर्सियल बैङ्कको १०.७६ प्रतिशत रहेको छ । 

Comments

Back to top