खाना खाने कसरी ? यस्ता छन् केही तरिका
संस्कृतिमा हामी जे–जति चीजहरू गर्छौँ, त्यसको एउटा वैज्ञानिक पक्ष रहेको छ । हाम्रो संस्कृतिमा भोजनको सन्दर्भमा पनि उत्तिकै ध्यान दिइएको छ । हामी के खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुराले समेत निकै महत्त्व राख्दछ । यहाँ केही सरल उपायहरू बताइएका छन्;
१ कति खाने र कति पटक खाने ?
अध्ययनहरूबाट यो पत्ता लागेको छ कि मानिसको दिमागले पेट खाली भएको बेला मात्र उच्च ढङ्गले काम गर्छ । अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन्, पेट खाली हुँदा घ्रेलिन भनिने रसायन उत्पन्न हुन्छ, जसले मस्तिष्कमा पेट खाली भएको सन्देश पुरार्यउँछ ।
यो हर्मोनले अन्य कामहरू समेत गर्दछ । मस्तिष्कमा हिप्पोक्याम्पस भन्ने भाग हुन्छ, जसले केही सिक्ने, स्मरण वा याद गर्ने, सतर्क र सक्रिय रहने अनि कुनै चीजमा ध्यान केन्द्रित गर्ने जस्ता कामहरू सञ्चालन गर्दछ । घ्रेलिन हर्मोनले हिप्पोक्याम्सलाई उत्तेजित गराउँछ र यसको कार्यक्षमता बढाँउछ ।
यसको अभिप्राय हामीले कहिल्यै खाना खानुहुँदैन भन्ने पक्कै होइन, बरु यसले यो सङ्केत गर्दछ कि हामी कति खान्छौँ भन्नेप्रति सचेत हुनुपर्छ ।
तपाईंले दिनैभरी खाइरहनु हुँदैन । यदि तपाईं तीस बर्षभन्दा कम उमेरको हुनुहुन्छ भने, दिनमा तीन पटक भोजन गर्नु पर्याप्त हुन्छ । यदि तपाईंको उमेर तीस वर्षभन्दा बढी छ भने, दिनमा दुई छाक खाना खानु उत्तम हुन्छ । हाम्रो शरीर र दिमागले तबमात्रै सर्वश्रेष्ठ तरिकाले काम गर्छन्, जब पेट खाली हुन्छ ।
२ खाना राम्रोसँग चपाउनुहोस्
राम्रोसँग चपाएर खाना खानाले पाचन–प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ । अध्ययनहरूले यो देखाएका छन् कि पूरै पाचन प्रक्रियाको लगभग तीस प्रतिशत पाचन र्यालले हुने गर्दछ । खाना खाइसकेपछि कम्तीमा पनि दुई घण्टासम्म नसुत्नुहोस्। पाचनले तपाईंको मेटाबोलिक प्रक्रिया (खानालाई ऊर्जामा बदल्ने प्रक्रिया) लाई सक्रिय बनाउँछ ।
योगमा भनिन्छ कि तपाईंले एक गाँसलाई २४ पटक चपाउनुपर्छ । यसको पछाडि थुप्रै वैज्ञानिक आधारहरू छन् । मुख्यतः तपाईंले खानुभएको खाना मुखमै लगभग पच्न सुरु हुन्छ, जसले गर्दा तपाईंको शरीरमा अल्छीपन र सुस्तता आउन दिँदैन ।
अर्को कुरा के हो भने, यदि तपाईंले २४ पटक चपाउनुभयो भने, त्यो भोजनको सूचना तपाईंको शरीरमा स्थापित हुन्छ अनि तपाईंको शरीरको प्रत्येक कोषिकाले तपाईंको लागि के ठीक हो र के बेठीक भन्ने कुरा तय गर्न सक्दछ– स्वादको आधारमा होइन, तपाईंको पूरै प्रणालीलाई के उपयुक्त छ भन्ने सन्दर्भमा । यदि तपाईंले यो अभ्यास गर्न थाल्नुभयो भने, केही समयपछि शरीरले के रुचाउँछ र के रुचाउँदैन भन्ने बारेमा शरीरको प्रत्येक कोषिकामा राम्रो ज्ञान हुनेछ ।
३ समय अनुसारको सही भोजन
यस संस्कृतिमा कुन समयमा कुन वनस्पतिहरू उपलब्ध छन् अनि शरीरको लागि के उचित छ भन्ने कुरामा आधारित रही गर्मीयाममा एक तरिकाले खाना बनाइन्थ्यो, वर्षायाममा अर्कै तरिकाले अनि जाडोयाममा भिन्दै किसिमले खाना बनाउने गरिन्थ्यो। यो समझदारीलाई आफ्नो जीवनमा लागू गर्नु राम्रो हुन्छ, साथै शरीरको आवश्यकता र बदलिँदो मौसम अनुसार खाना खानु उचित हुन्छ ।
उदाहरणको लागी जाडोयाममा गहुँ, गहत, तील जस्ता खाद्य पदार्थ खान सकिन्छ, जसले शरीरमा गर्मी बढाउँछ । जाडोयाममा, चिसो मौसमको कारण छाला फाट्ने समस्या हुन्छ । पहिले मानिसहरूले क्रिम वा लोसनको प्रयोग गर्दैनथे । उनीहरू दैनिक रूपमा तिलको प्रयोग गर्दथे; तिलले शरीरमा गर्मी बढाउँछ अनि छालालाई नरम राख्छ । यदि शरीरमा पर्याप्त मात्रामा उष्ण वा गर्मी भयो भने, छाला फाट्ने समस्या हुँदैन । त्यसैगरी, गर्मीयाममा शरीरमा धेरै गर्मी हुनाले शरीरलाई चिसो बनाउने खानेकुराहरू खाइन्थ्यो ।
४ दुई भोजनको बीचमा अन्तराल हुनुपर्छ
योगमा यो स्पष्ट भनिएको छ कि पहिलो भोजनपछि, लगभग ८ घण्टापछि मात्रै अर्को भोजन गर्नुपर्छ । यसलाई तपाईं घरबाट बाहिर भएको बेलामा समेत पालन गर्न सक्नुहुन्छ । यो त भयो योगमा भनिएको कुरा, तर सामान्य स्थितिमा समेत तपाईंले दुई भोजनको बीचमा कम्तीमा पनि ५ घण्टाको अन्तराल राख्नैपर्छ ।
यसको कारण के हो भने, पेट खाली हुँदा मात्रै हाम्रा मल–उत्सर्जन तन्त्रहरूले राम्रोसँग काम गर्न सक्छन्। यदि तपाईंको पाचन प्रणालीमा खाना पचाउने क्रिया निरन्तर चलिरह्यो भने, शरीरको केही ऊर्जा स्वतः त्यसैमा लागिरहन्छ, जसले गर्दा तपाईंको शरीर र दिमाग उत्तम तरिकाले काम गर्न सक्दैनन् ।
५ भोजनको सन्दर्भमा बानी नबसाल्नुहोस्
भोजनको सन्दर्भमा हामीले कुनै बानीको विकास गर्न जरूरी छैन, बरु समझदारीले सचेत भई आफ्नो आहार रोज्नु राम्रो हुन्छ ।
त्यही खानुहोस्, जे शरीरको लागि उचित छ । तपाईंले आफ्नो शरीरसँग प्रयोग गर्न सक्नुहुन्छ । आज, एक प्रकारको खाना खानुहोस् अनि हेर्नुहोस् कि तपाईंको शरीरमा कति स्फूर्ति र सतर्कता आउँछ । यदि तपाईंले खानुभएको खानाले तपाईंलाई सुस्त बनाउँछ भने, त्यो सही खाना होइन । यदि तपाईंले खानुभएको खानाले तपाईंलाई अझ जीवन्त बनाउँछ भने, त्यो सही खाना हो । (कफि बाहेक, किनकि त्यसले तपाईंको स्नायु–प्रणालीलाई उत्तेजित गर्दछ।)
Comments