गायीका कुन्ती मोक्तानः नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय नाम
नेपाली सांगीतिक क्षेत्रमा कुन्ती मोक्तानको नाम निकै परिचित र लोकप्रिय नाम हो । लोक शैली गीतहरुलाई आधार बनाएर आधुनिक गीत गाउने कुन्ती मोक्तानको खुट्टा तान्दै गर, भन्छन् कोही जिन्दगीको, डाली डालीमा, माथि माथि सैलुङ्गेमा र चोली राम्रो पाल्पाली ढाकाको गीतहरु निकै लोकप्रिय छन् ।
कुन्ती मोक्तानको वास्तविक नाम कुन्ती सुन्दास हो । उनको जन्म भारतको दार्जिलिङमा वि.सं २०१९ असार २७ गते भएको हो । उनी बुवा प्रेम कुमार सुन्दास र आमा विष्णु माया सुन्दासका पहिलो सन्तान हुन् ।
कुन्ती मोक्तानलाई सानै उमेर देखि संगीत खुबै मन पर्थ्यो । उनको गायन प्रतिभाको कारण कक्षा आठमा अध्ययनरत हुँदा नै कुन्तीले आकाशवाणी नामक रेडियोमा भोइस टेस्ट पास गरेकी थिइन् । त्यस समयमा उनी जम्मा १४ वर्षको थिइन्। स्वर टेस्ट पास भए पछि त्यहि वर्ष उनलाई कोरी बाटी नामको गीत रेकर्ड गर्ने अवसर प्राप्त भएको थियो । कुन्ती मोक्तानले गुरु जेसि राईसँग शास्त्रीय संगीत पनि सिक्नु भएको थियो । समग्र नेपालवासीलाई आफ्नो गीत सुनाउने चाहना सहित कुन्ती मोक्तान आफ्ना पति शिलाबहादुर मोक्तानसँग काठमाडौ आएकी थिइन् ।
सन् १९८० मा काठमाडौँको नाचघरमा उनले आफ्नो प्रस्तुति दिएकी थिइन् । त्यहि समय रेडियो नेपालले उनलाई ३ दिनको अवधिमा संगीत तयार गर्न अवसर दिएको थियो र मोक्तानले त्यस समय ‘कहिले काँहि मलाई पनि हेरिदेउ है फर्केर…’ भन्ने गीत तयार गरेकी थिइन् । रेडियो नेपालमा भोइस टेस्ट पास नगरी गीत बजाउन नपाइने कारणले गर्दा त्यसबेला उक्त गीत बज्न सकेन ।
उनको सो गीत ६ महिनासम्म बजेन । शास्त्रीय संगीतमा भोइस टेस्ट पास गरि सकेपछि कुन्ती मोक्तानको पहिलो गीत रेडियो नेपालमा बज्न थाल्यो । उनको यहि गीतले उनलाई निकै चर्चित बनाएको थियो । त्यस पछि कुन्ती मोक्तानले शिलाबहादुर मोक्तानसँग सहकार्य गर्दै शास्त्रीय संगित र लोक गीतलाई फ्युजन गर्दै राम्रा राम्रा गीतहरु रेकर्ड गर्न थालिन् र त्यसपछि उनले लगातार राम्रा राम्रा सांगीतिक कोसेलीहरु दर्शक श्रोताहरुका लागि दिइरहिन् ।
Comments