फ्रान्स र यूएईको भ्रमणमा निस्कँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमण गर्ने भएका छन् । 

प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते फ्रान्सको भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ । बास्टिल डे अर्थात् राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथिका रुपमा उनी सहभागी हुनेछन् । 

फ्रान्समा रहँदा प्रधानमन्त्रीले राष्ट्रपति इमानुएल म्याक्रोसँग औपचारिक वार्ता गर्नेछन् । भारतीय विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति म्याक्रोँले विश्वको सबैभन्दा ठूलो लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्नेछन् । 

फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ । द्विपक्षीय रणनीतिक साझेदारीको रजत महोत्सवका सन्दर्भमा दुई देशबीच रक्षा र ऊर्जासहित धेरै क्षेत्रमा व्यापार सम्झौता वार्ता हुने बताइएको छ ।

Comments

Back to top