हनी अग्रवाल: 'द लण्ड्री ब्याग' सुरु गरेकी महिला उद्यमी जसले लुगा धुने व्यवसायलाई पूर्ण रुपमा प्रविधिमा निर्भर गराइन् !
भारतको पुनेमा रहेको सेम्बियोसिस अन्तरराष्ट्रिय विश्वविद्यालयमा अध्ययन गरिरहेको समयमा हनी अग्रवालमा केहि नयाँ काम गर्ने हुटहुटी थियो । फाइनान्स लिएर एमबीए गरिरहेकी हनी र उनकी साथीले त्यहिँ इच्छा लिएर आफ्नो क्याम्पस प्रमुखसँग लण्ड्रीको काम सुरु गर्ने प्रस्ताव राखे ।
क्याम्पस प्रमुखले आफ्नै क्याम्पसबाट लुगा धुन सुरु गर्नु भन्ने दिएको सल्लाह अनुसार २०१४ मा लुगा धुने ठाउँ बनाए । 'सेम्बियोसिस विश्वविद्यालय अन्तर्गतका करिब ५ क्याम्पसमा लण्ड्रोम्याट सुरु गर्योँ,' द लण्ड्री ब्यागकी हनी अग्रवाल सुनाउँछिन् ।
उनी थप्छिन्,'डेढ वर्ष व्यवसाय गरिसकेपछि हामीले सबैलाई अझै भनौँ विशेष गरी विद्यार्थीहरुलाई आफ्ना फोहोर लुगा धुन लैजान र ल्याउन समेत अल्छि लाग्ने रहेछ । त्यस कुरामा हामीले ध्यान दिँदै अनलाईन ड्राइ क्लिनिङ गर्न थाल्यौँ । अब भने हामी नै घर घरमा पुगेर मानिसहरुको मैलिएका कपडा ल्याएर धोएर सुकेपछि पुनः घरमा पुर्याउन थाल्यौँ ।'
लण्ड्रिमा अनलाईन सेवा चल्दो रहेछ भन्ने थाहा भएपछि हनी र उनकी साथी तथा बिजनेस पार्टनरलाई व्यवसाय विस्तार गर्न मन लाग्यो । '२०१६ मा हामीलाई होटल तथा अस्पतालमा पनि यसको आवश्यकता रहेछ भन्ने लाग्यो र हामीले कुन व्यवसाय धेरै सफल होला र कसरी भन्ने सोंच विकास गर्न थाल्यौँ र त्यसलाई कार्यान्वयन पनि गर्योँ,' उनी बताउँछिन् ।
भारतमा करिब १२ होटल तथा अस्पतालका कपडा क्लिन वल्र्ड प्राइभेट लिमिटेडको द लण्ड्री ब्यागले धुने गरेको छ । हायात होटलका केहि शाखामा, टाटा मेडिकल सेन्टर, सेम्बियोसिस कलेज लगायत अन्य केहि स्थानमा द लण्ड्री ब्याग संचालन भइरहेको छ ।
द लण्ड्री ब्याग हनी र उनकी साथीले स्थापना गरेका थिए । भारत हुँदै नेपालमा पनि सन् २०२१ मा नेपालमा पहिलो पटक स्थापना भएको थियो । द लण्ड्री ब्यागको कार्यालय झम्सिखेलमा छ।
द लण्ड्री ब्याग भारतमा ३५ लाख भारतीय रुपैयाँको लगानीबाट सुरु भएको थियो । अहिले भने नेपाल लगायत प्रत्येक प्रोजेक्टको लगानी साढे तीन करोड रुपैयाँसम्म पुगिसकेको छ । हनीका अनुसार नेपालमा चार वटा स्थानमा द लण्ड्री ब्यागले आफ्नो सेवा दिइरहेको छ । 'बौद्ध, सोल्टिमोड, लाजिम्पाट र थापाथली गरी चार ठाउँबाट हामी सेवा संचालन गरिरहेका छौँ,' हनीले सुनाइन् ।
'लण्ड्री अफिसमा बस्दा कपडाहरुका साथै म आफै पनि सफा भइरहेछु जस्तो लाग्छ,' उनी थप्छिन्, 'मैले सोंचे भन्दा धेरै छिटो मेरो लक्ष्य पुरा हुँदैछ । आगामी ५ वर्षसम्म लगातार २ वर्षसम्म दोब्बरले बढाउने मेरो इच्छा छ ।'
महिला र पुरुषलाई बराबर अधिकार दिइनु भन्दा पनि महिलालाई क्षमता वृद्धिका लागि धकेल्नु आवश्यक छ ।
लण्ड्रीको व्यवसाय गर्नु महिलाका लागि अत्यन्त सुरक्षित क्षेत्र हो । सबै कुरा मेसिनले नै गर्ने हुँदा सहज पनि छ । द लण्ड्री ब्यागमा ८२ जनाले रोजागरी पाएका छन् । जसमध्ये ८० प्रतिशत महिला कार्यरत छन् । रातको समयमा पनि यस कम्पनीमा महिला कर्मचारीहरु खटिएका देख्न सकिन्छ ।
Comments