उत्तर पश्चिम भारतमा भारी बर्षा, आज दिल्लीका सबै बिधालय बन्द
उत्तर पश्चिम भारतका अधिकांश भागहरूमा वर्षाको मौसम जारी छ। देशका धेरै राज्यमा भारी वर्षा भइरहेको छ । दिल्लीका धेरै ठाउँमा पानी जमेका कारण मानिसहरुलाई समस्या भएको छ । मौसम पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ । अवस्थालाई ध्यानमा राख्दै अरविन्द केजरीवाल सरकारले सोमबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
अरविन्द केजरीवालले ट्वीट गर्दै दिल्लीमा विगत २ दिनदेखि परेको मुसलधारे वर्षा र मौसम विभागको चेतावनीलाई ध्यानमा राख्दै साेमबार दिल्लीका सबै विद्यालय एक दिनका लागि बन्द गरिएको बताए ।
दिल्लीमा जुलाईमा अहिलेसम्म १६४ मिलिमिटर वर्षा भइसकेको छ । सहरमा महिनाभर औसत २०९.७ मिलिमिटर वर्षा हुन्छ। अविरल वर्षाका कारण सहरका धेरै पार्क, अन्डरपास, बजार तथा अस्पताल परिसर जलमग्न भएका छन् भने सडक जाम भएको छ ।
उता, दिल्ली एनसीआरमा भारी वर्षा भइरहेको छ। दिल्लीको छेउमा रहेको हरियाणाको गुरुग्राममा प्रशासनले कर्पोरेट र निजी क्षेत्रमा काम गर्ने मानिसहरूलाई घरबाटै काम गर्न सल्लाह दिएको छ।
यसैगरी, दिल्लीसँगै उत्तर प्रदेशको गाजियाबादमा पनि प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाजियाबादका जिल्ला मजिस्ट्रेटले भारी वर्षालाई ध्यानमा राख्दै जुलाइ १० र ११ तारिखमा विद्यालयमा बिदा दिने घोषणा गरेका छन् ।
Comments