चीनद्वारा युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेप बोरेलको भ्रमण रद्द

चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो ।

चीनका लागि युरोपेली सङ्घका राजदूत जर्ज टोलेडोले जोसेप बोरेल चिनियाँ विदेशमन्त्री छिन गङ र अन्य अधिकारीसँग वार्ता गर्न असार २५ गते बेइजिङमा अवतरण गर्ने कार्यक्रम रहेकामा त्यो अब रद्द भएको बताएका छन् । चिनियाँ र युरोपेली कूटनीतिज्ञ व्यापार, मानवअधिकार र रुस–युक्रेन जारी द्वन्द्वमा चीनको अडानलगायत विषयमा छलफल गर्ने ‘एजेन्डा’ मा काम गरिरहेका थिए ।

चीनले बोरेलको भ्रमण रद्द गरेको युरोपेली सङ्घले औपचारिकरूपमा जनाएको छ तर भ्रमण रद्द गर्नुको कारण भने खुलाइएको छैन । चिनियाँ पक्षले नै भ्रमण रद्द हुनुको कारणबारे जानकारी नदिएको जनाइएको छ । नयाँ मितिमा बोरेलको भ्रमण हुने अपेक्षा गरिएको सङ्घका प्रवक्ता नबिला मस्रालीले बताएकी छन् ।

Comments

Back to top