रुसको बारुद कारखानामा विष्फोट ६ जनाको मृत्यु, २ घाइते

मध्य रुसी क्षेत्र समारामा रहेको एउटा बारुद कारखानामा भएको विष्फोटमा परी ६ जनाको मृत्यु हुनाका साथै अन्य दुईजना घाइते भएका छन् । 

रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज प्लान्टमा विस्फोट हुँदा आठ जना घाइते भएकामा छ जनाको तत्काल मृत्यु भएको हो । आरआईए नोवोस्ती समाचार एजेन्सीले उपकरणको मर्मतसम्भारका क्रममा उक्त विष्फोट बिहीबार अबेर भएको आपतकालीन सेवाका अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

एक सय १२ वर्ष पुरानो उक्त कारखाना तत्कालीन सोभियत सङ्घ र रुसका निम्ति अत्यावश्यक पर्ने  विष्फोटक पदार्थ उत्पादन गर्ने मुख्य कारखाना हो । भूमि उत्खनन, ग्यास आपूर्ति र सडक निर्माणलगायत कार्यमा आवश्यक पर्ने औद्योगिक विष्फोटक पदार्थ बनाउने उक्त कारखानामा एक हजार तीन सय कामदार रहेका बताइएको छ । 
 

Comments

Back to top