श्रीलङ्का बन्यो विश्वकप छनोटका सबै खेल जित्ने पहिलो टोली

आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा श्रीलङ्काले वेष्ट इण्डिजमाथि ८ विकेटको शानदार जित निकालेको छ।

जितका लागि वेष्ट इण्डिजले दिएको २४४ रनको लक्ष्य श्रीलङ्काले ४४.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो। श्रीलङ्काको जितमा विस्फोटक ब्याटिङ गरेका पथुम निसानकाले सर्वाधिक १०४ रनको शतकीय पारी खेले।

यो जितसँगै श्रीलङ्काले विश्वकप छनोटमा अपराजित यात्रा कायमै राखेको छ। छनोट चरणमा खेलेका पाँचवटै खेल जित्ने श्रीलङ्का पहिलो टोली समेत बनेको छ। श्रीलङ्का र वेष्ट इण्डिजबीचको खेलसँगै सुपरसिक्स चरणका सबै खेल सकिएका छन्।

छनोट चरणमा सहभागी दश टोलीमध्ये नेदरल्याण्ड्स र श्रीलङ्काले विश्वकपमा स्थान बनाएका छन्। विश्वकप छनोटको फाइनलमा आज नेदरल्याण्ड्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

Comments

Back to top