कुरुसले बुनेका पहिरन "ज्या" कामको ईज्जतको लागि राखेको नाम
निहारिका डंगाेलले सानैदेखि दिदीहरुले कुरुस चालाएको देखेकी थिइन् । विदेश निर्यात गर्ने कम्पनीका लागि दिदीको समुहले दिनभर घरमा बसेर कुरुसले कपडा बुनेको निहारिकाले नियाली रहन्थिन् ।
स्कुलको कार्यक्रममा निहारिकाले आफ्ना लागि आफै पहिरन बनाएर नाँचेको क्षण उनको लागि अविस्मरणिय छ, "सानो हुँदा लुगा फेरि फेरि पाइँदैनथ्यो । दशैं, जात्राहरुमा मात्र किनिन्थ्यो । अरु बेला स्कुलकै ड्रेस लाउँथ्यौ,’ उनी सम्झिन्छिन् ‘विदेशबाट सरकारी विद्यालयहरुलाई गरिएको सहयोग अनुरुप कपडा वितरण गरिएको थियो । त्यतिबेला मेरो भागमा एउटा स्कर्ट परेको थियो जुन एकदम राम्रो थियो । सधैं एउटा लुगा लगाउने कुरा भएन, त्यस्तै स्कर्ट बुनेर मैले बनाए र लगाए ।’ त्यसपछि उनकाे क्राेसे यात्रा एक कदम अघि बढ्याे ।
सानैदेखि फेसनमा रुची भएकोले निहारिकाले नमुना कलेज अफ फेसन टेक्नोलोजीबाट फेसन डिजाइनिङमा स्नातक गरेकी छिन् । समाजसेवा गर्न मन पराउने उनी स्काउटमा पनि आवद्ध छिन् ।
अध्ययनसँगसँगै निहारिकाले सानातिना अर्डर लिइरहेकी थिइन् । पाठ्यक्रममा मात्र नभएर व्यवहारिक जीवनमा पनि उनले अभ्यास गरि नै रहिन् ।
नेवारीमा ज्याको अर्थ काम हो । "सिलाई बुनाईको कामलाई ईज्जतको काम नमान्नेहरुले यो कामलाई हेप्छन्, महत्व दिइँदैन, मेहनत अनुसारको पैसा पनि दिइँदैन, निहारिका भन्छिन् । "यो कामलाई माथि उठाउँछु । यहिँ कामको ईज्जतको लागि मैले नाम ज्या राखेको हो," निहारिका अथ्र्याउँछिन् ।
पाठ्यक्रममा पढाइए पनि व्यवसायका रुपमा क्रोसेलाई अघि नबढाइएको देख्दा उनलाई यहिँ क्षेत्रमा नै केहि गर्ने जोश पलायो । "यसको भ्यालु कम छ ।
निहारिकालाई थप निखार र अभ्यासका लागि युट्युब पनि अर्को माध्यम बन्यो । युट्युब र सामाजिक संजालमा रहेका क्रोसेका पेजहरुले पनि उनलाई थप सिकायो । काेराेना महामारीका कारण लकडाउन हुँदा पाठ्यक्रम बाहेक गरिने धेरै अभ्यास भने युट्युब हेरेर गर्थिन् ।
ज्यालाई निहारिका बुटिक भन्न रूचाउँदिनन् । उनका लागि "ज्या" उनकाे अस्तित्व हाे । "खासमा बुटिकमा भनेको कसैको लागि पर्सनली डिजाइन गरेको लुगा राखिनुपर्छ । तर, यहाँ भारतबाट कपडा ल्याएर सिलाइन्छ र त्यसैलाई नै बुटिक भनिने गरिएको छ । म भने त्यो मान्दिन," त्यसैले निहारिकालाई आफ्नै कपडा उद्योग खोल्ने धेरै इच्छा छ ।
यद्यपी खर्च चलाउनका लागि भनेर उनले खोकनास्थित घरबाट नै अन्य बुटिक डिजाइनर लुगा पनि ग्राहकको अनुरोधमा बनाउने गरेको बताउँछिन् ।
औपचारिक रूपमा ज्या एक वर्षअघि खुलेकाे थियाे । हाल ज्या निहारिकाकै घरबाट चलिरहेकाे छ ।अब छिट्टै बाहिर स्टोर खोल्ने निहारिकाले योजना बनाएकी छिन्।
निहाारिकाको सपना नेपाली क्रोसेका उत्पादनहरुलाई विश्व माझ चिनाउने छ ।
Comments