"एरा नेपाल" दुई नेपाली युवतीको चप्पल ब्राण्ड!
आशंषा र विशाखा सहकर्मीबाट बिजनेस पार्टनर भएका हुन् । जागीर गरिरहँदा उनीहरुलाई आफ्नो केहि गर्न पाए हुने भन्ने अनूभूति भइरहेको थियो। 'पहिला हामी ओयो र फार्मर्स बजारमासँगै काम गरिरहेका थियौँ । आफैले व्यवसाय सुरु गरेर बरु रोजगारी दिनु राम्रो हो भन्ने लाग्थ्यो । नेपालमा बनाएर नै के दिने भनेर सोच्थ्यौँ । परिवार व्यापार नगरेको हुँदा खासै ज्ञान थिएन,' विशाखा बोल्दा बोल्दै आशंषा थप्छिन्, 'अर्को कुरा हामी हर दिन अफिस जाँदा सजिलो र सस्तो जुत्ता चप्पल बजारमा किन्न नपाइने । त्यसैले नेपालमा नै ह्याण्डमेड सुज बनाउने निधो गर्यौँ।'
अन्तत : कोरोना महामारीका कारण जागिर अस्थिर हुँदा दिक्क लागेका यी साथीको आफ्नै व्यवसाय सुरु गर्ने सोंच मिल्यो । 'धेरै रिसर्च गरिरहँदा, सबैतिर बुझ्दा यो व्यवसाय नै राम्रो हुन्छ जस्तो लाग्यो र सुरु गर्योँ,' उनीहरु भन्छन् ।
साढे एक वर्ष अघि इन्स्टाग्राममार्फत सुरु भएको "एरा नेपाल" विगत ८ महिनायता भने पुर्ण रुपमा संचालन भइरहेको छ ।
'हामीले सुरुवातमा साधारण चप्पलबाट सुरु गरेका थियौँ । साधारण उत्पादन भए पनि धेरैले मन पराइदिनुभयो।' सुरुवातमा ९९९ रुपैयाँबाट चप्पल बिक्री गर्न सुरु गरेको संचालिका विशाखाले जानकारी दिइन् । 'डेलीभरी समेत आफैले गरेको हुँदा त्यति बेला त्यतिमा दिन सक्यौँ । तर अहिले भने कुरियरले पुर्याइदिने भएकाले १०० रुपैयाँ मूल्य वृद्धि गर्योँ । सामान, सोल र समग्र चप्पल पनि अझै राम्रो बनाउँदै लग्याैँ। हाम्राे फेसन र इन्टेरियर डिजाइनिङमा रुची भएकोले डिजाइन हामी आफै छान्छौँ र बनाउँछौ,' आकांशा र विशाखा सुनाउँछन् ।
एरामा नेपालमै बनेको रेक्जिन, सोल, इनसोल, फोम, गम र सिलाइ धागो, बकल, इलास्टिक लगायतको प्रयोग गरेर बलियो र आकर्षक चप्पल उत्पादन गर्ने गरिएको छ ।
संचालिका द्वयले आफै चप्पलको प्रयोग गरी हेरेर मात्र बिक्री सुरु गर्ने गरेको अनुभव सुनाउँछन् । 'हाम्रो चप्पलहरु ६ पटक लगाउँदासम्म केहि गरी बिग्रिएमा हामी बनाइदिन्छौँ पनि,' आशंषा बताउँछिन् । ८ महिनासम्म टिक्ने ग्यारेण्टी उनीहरु दिन्छन् ।
एरा नेपाल १६ लाख रुपैयाँको लगानीबाट सुरु भएको थियो । संस्थापकका अनुसार उधाेगमा लगानी बिस्तारै बढिरहेको छ । यस उधाेगमा मासिक रुपमा ५०० जोर चप्पल उत्पादन हुने गरेको छ ।
Comments