त्रिभुवन विमानस्थलमा १ जना यात्रुको बिदाइ र स्वागतमा अब ३ जना मात्रै जान पाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ।

विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।

प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भीडभाड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले सो निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भीड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको  भीड लाग्छ । भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र प्यासेन्ज ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको सुरक्षा समितिको ठहरपछि यस्तो निर्णय भएको हो ।

Comments

Back to top