रुसमा वाग्नर समूहको विद्रोहले राष्ट्रपति पुटिनको अधिकारलाई चुनौती दियो : एन्टोनी ब्लिन्केन
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसमा विद्रोही समूह वाग्नरले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा समस्या देखिएको बताएका छन् ।
उनले निजी सैन्य समूह वाग्नरले गरेको विद्रोहले पुटिनको अधिकारलाई प्रत्यक्ष चुनौती दिएको बताएको बीबीसीले जनाएको छ ।
रुसमा भएको विद्रोहलाई लिएर युरोपेली देशहरुसँग परामर्श गरिरहेको अमेरिकाले पहिलो टिप्पणी गरेको हो । रुसमा हुन लागेको विद्रोहका बारेमा अमेरिकी जासुसहरुले केही समय अघि नै राष्ट्रपति जो वाइडेन लगायत उच्च तहमा जानकारी गराइसकेका पनि खबरमा उल्लेख छ ।
रुस सरकारसँग सहमति भएपछि भाडामा सेना उपलब्ध गराउने वाग्नर समूह शिविरमा फर्किएको छ । वाग्नर समूहसँग भएको सम्झौताबारेमा रुसले विस्तृत जानकारी गराएको छैन । तर यस घटनाले रुसले युक्रेन युद्धमा निजी सेना प्रयोग गरी क्रुर लडाइँ गरिरहेकोबारेमा नयाँ बहस शुरु भएको छ ।
Comments