नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ । 

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत-स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि क्यामरुन गणतन्त्रका राजदूत-स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थेले बिहीबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्यूयोर्कमा समारोहमा सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाका बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै राजदूतले हस्ताक्षर गरेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 

सो अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चमा दुई देशको पारस्परिक हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए ।

Comments

Back to top