"डोरो" याेजना र जाेशले माैलाउँदै गरेकाे स्वदेशी ब्राण्ड!

नेपालमा नै कपडा उत्पादन गरेर नेपालीहरुलाई पहिराइरहेको डोरो ब्राण्ड पहिचान बनाउने क्रममा रहेको छ । डोरो, झट्ट सुन्दा धागो भन्ने लाग्न सक्छ । तर यो धागो नै धागोको संगम भएर बनेको नेपाली ब्राण्ड हो ।

काठमाडौंको विजेश्वरीस्थित होटल वज्रको छेउैमा रहेको छ डोरो ब्राण्डको स्टोर । यस ब्राण्डले जाडोका मात्र नभएर गर्मीमा लगाइने सबै कपडा उत्पादन गर्दछ । आफैले उत्पादन गरेको ज्याकेट, ट्राउजरदेखि टिसर्टसम्म डोरोको यस स्टोरमा पाइन्छ ।

अमित लामा र प्रेम महर्जन मिलेर एक वर्षअघि सुरु गरेका थिए डोरो । डोरोको कारखाना पनि पसलबाट केवल पाँच मिनेटको दुरीमा रहेको छ । जहाँँ १५ जना कर्मचारीहरुले लुगा धमाधम सिलाइहेको देख्न सकिन्छ । कुल ३२ जना कर्मचारी रहेको डोरोले सबै वर्ग,लिंग,तौल र उमेर समुहलाई हुने गरी उत्पादन गर्ने गर्दछ ।

ललितपुरका अमित लामाले नेपालमा नाम चलेको ब्राण्डमा करिब १० वर्ष काम गरे । एक दशक कपडा उद्योगमा अनुभव बटुलेका अमितलाई जागिर भन्दा पनि आफ्नै केही गर्ने हुटहुटी थियो । "अब जागिरबाट केहि हुने नदेखेपछि केही गराैँ भन्ने लाग्याे । मसँग आईडिया छ तर लगानी एक्लै गर्न सकिन्न भन्ने लाग्यो," उनी सम्झिन्छन् ।

हुन त त्यसअघि कुखुरा पालन पनि गरेका थिए अमितले तर त्यसमा उनी सन्तुष्ट हुन सकेनन् । श्रीमती पोर्चुगल हुँदा विदेश जाने अवसर पाएपनि अमितलाई रुचि जागेन । 

सोहि समयमा उनको भेट निकै लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध भएका र गार्मेन्ट उद्योग "देउराली कम्पनी" अन्तर्गतको "हेड अफ द वर्ल्ड" ब्राण्ड पनि चलाएका नरेश महर्जनसँग भयो । कोरोना पछि थला परेको पर्यटन व्यवसायलाई ब्युताउँन र हेड अफ द वर्ल्डको परिमार्जन गर्न महर्जन लागि परेको समय थियो । व्यवसाय गर्ने साथीको खोजीमा रहेका यी दुबैजनाको सोच मिल्यो र नयाँ ब्राण्ड बनाएर सञ्चालन गर्ने निधो भयो ।

नरेशको उद्योग र अमितको योजना तथा जोशले डोरो स्थापना भयो । ब्राण्डको नाम खोज्न अमित र नरेशले धेरै मेहनत गरे । विशुद्ध नेपाली नाम चाहिएकाले पनि डोरो पाउँदा उनीहरुले त्यसको अधिकार लिइहाले । "डोरोको अर्थ, धागो र धागो नै हाम्रो कामसँग सम्बन्धित भएकाले यहीँ नाम ठिक लाग्यो," अमित सुनाउँछन् । एक वर्षअघि देखि उत्पादन सुरु गरेपनि सहसंस्थापकद्वय अमित र नरेशले वैशाखदेखि मात्र स्टोरको उद्घाटन गरेका थिए ।

डोरो ब्राण्ड बाहेक अमित शेयर कारोबारमा पनि रमाउने गर्छन् । १५ वर्ष भन्दा धरै भयो अमित शेयर बजारमा पसेका । अग्रज दाइहरुको लहलहमै शेयर बजार भित्रिएका अमितले लाइन लागेर नै कैयौं आईपीओ पनि भरे । अन्य व्यवसायसँगै अमितले शेयरमा लगानी गरिरहे र नाफा पनि कमाए । अनलाईन प्रविधिको आगमन भएपछि अमितलाई कारोबार गर्न सहज भयो । अहिले पनि डोरो ब्राण्डको कामसँगै उनी शेयर बजारलाई नियाली रहेका हुन्छन् । उनी भन्छन्, "कमाउन दुबैतिरबाट सकियो तर घाटा दुबैतिर हुनुभएन । विन विन हुनुपर्यो भन्ने लाग्छ ।" ३४ वर्षका अमितलाई विदेशभन्दा आफ्नै देशमा काम गर्दा अहिले खुशी मिलिरहेको छ ।

 

 

Comments

Back to top