निन्द्रा नलाग्ने समस्या असन्तुलित जीवनशैलीले बढ्दै!
मानव शरीरका लागि निदाउनु अपरिहार्य भएपनि कहिलेकाहीं निन्द्रा लाग्दैन । निदाउन अनेक प्रयास गर्दा पनि निदाउन सकिँदैन । अहिले मानिसमा निन्द्रा नलाग्ने समस्या निकै बढेको छ ।
निन्द्रा नलाग्नुका व्यक्तिपिच्छे फरक कारण भएपनि यो आफैंमा एउटा रोग हो, जसलाई इन्सोमेनिया भनिन्छ । निन्द्रा नलाग्नु सामान्य जस्तो देखिएपनि यसले स्वास्थ्यलाई निकै हानी गरिरहेको प्राकृतिक चिकित्सक डा. मनोज ढकाल बताउँछन् ।
‘निन्द्रा नलाग्नुलाई सामान्य रुपमा लिनु हुँदैन, यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर गरिरहेको हुन्छ । शरीरलाई स्वस्थ राख्न निन्द्राको मुख्य भूमिका हुन्छ,’ उनी भन्छन् ।
निन्द्रा मानिसका लागि अति आवश्यक भएपनि अहिले मानसिक तनाव, धुम्रपान तथा मद्यपान सेवन, कफीको सेवन, खानपान तथा अन्य धेरै कारणले मानिसमा निन्द्रा हराउँदै गएको छ । निन्द्रा हराउँदा त्योसँगै उनीहरुको जीवनशैली पनि अस्वस्थ बन्दै गइरहेको छ ।
अनिन्द्राले मानिसमा तनाव, मधुमेह, एनजाइटी, मुटुरोग, डिप्रेसन, श्वासप्रश्वास सम्बन्धी रोग, पाचन प्रणाली सम्बन्धी समस्या तथा नशा सम्बन्धी समस्या निम्त्याउने ढकाल बताउँछन् । अनिन्द्राले बाहिरी शरीरलाई मात्रै बेफाइदा गर्दैन यसले मानसिक स्वास्थ्यमा समेत असर प्रभाव गरिरहेको हुन्छ । निन्द्राका कारण तनाव बढ्ने, अल्छी लाग्ने, चिडचिडापन हुने, श्रवणशक्तिमा ह्रास आउने लगायत समस्या आउँछन् ।
मानिस स्वस्थ रहनका लागि न्यूनतम सात घण्टा निदाउनैपर्ने डा. ढकाल बताउँछन् । तर कसैकसैलाई भने सात घण्टाभन्दा कम समय सुत्दापनि निन्द्रा पुग्ने गरेको छ । त्यसैगरी स्वास्थ्यका लागि समयमै उठ्नु पनि उत्तिकै जरुरी हुन्छ ।
मानिसको शरीरको आफ्नै घडी भएको र त्यही घडीको समय अनुसार चल्न सके स्वास्थ्यमा सुधार भई विभिन्न रोगबाट बच्न सकिने ढकाल सुझाउँछन् । उनका अनुसार मानव शरीरका अंगहरुको आ-आफ्नै समय हुन्छ, उनीहरुलाई समयअनुसार काम गर्न दिनुपर्छ ।
निन्द्रा नलाग्ने समस्या भएकाहरुले चिकित्सकसँग परामर्श लिनुपर्ने, दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्नुपर्ने, समयमा सुत्ने र उठ्ने बानीको विकास गर्नुपर्ने ढकालको सुझाव छ । यस्तै मोबाइल, कम्प्युटर जस्ता उपकरण कम चलाउने, शान्त वातावरणमा रहने, कोठामा निलो र हरियो रंगको प्रयोग गर्नुपर्ने, कोठामा पर्याप्त हावा र आवश्यक तापक्रम मिलाउने, लागूपदार्थ सेवन नगर्ने, सुत्ने समयमा मात्रै ओछ्यानमा जाने जस्ता बानी अवलम्बन गर्नुपर्ने पनि उनी बताउँछन् ।
Comments