मनुष्यतालाई सम्पूर्ण रुपमा जानेका थिए योगका जन्मदाता पतञ्जलीले
यदि तपाईंले पतञ्जलिलाई प्रबुद्ध व्यक्तिको रूपमा हेर्नुभयो भने, उनी अरूभन्दा बढी प्रबुद्ध थिए भन्ने पक्कै होइन, किनकि त्यस्तो कुरा नै हुँदैन । तर, एक व्यक्तिको रूपमा, अझ भनौँ उनको बुद्धिको दृष्टिले हेर्ने हो भने, उनको बुद्धिमत्ताको स्तर यति माथि थियो कि उनको अगाडि अहिलेका महान् वैज्ञानिकहरू पनि प्राथमिक स्कूलका बच्चाहरू जस्तो लाग्छन् । जीवनप्रतिको उनको बुझाइ यति गहिरो र विशाल थियो कि मनुष्यले त्यस हदसम्म जान्न सक्छ भनेर कल्पना नै गर्न सकिँदैन । औषधी, भाषा शास्त्र, व्याकरण, गणित, खगोलशास्त्र, ब्रह्माण्डविज्ञान, सङ्गीत र अन्य विषयहरूमा अत्यन्तै निपुण रहेका पतञ्जलि प्रसिद्ध १८ सिद्धहरू, ऋषिहरू एवं बुद्धिजीविहरूमध्ये एक आत्मज्ञानी महापुरुष थिए ।
तर, पतञ्जलि आधुनिक योगको जन्मदाताको रूपमा सर्वाधिक लोकप्रिय रहेका छन्— उनले योग विज्ञानको शुरुवात गरेकोले होइन, बरु यसकारण किनकि उनले योगको सारलाई प्रसिद्ध योग सूत्रहरूको रूपमा मानिसहरूसामु प्रस्तुत गरेका थिए । योग पहिल्यैदेखि रहिरहेको थियो । १५ हजार वर्षभन्दा निकै पहिले आदियोगी शिवले सप्तऋषिहरूलाई योगको विज्ञान सञ्चार गरेका थिए । आफूले जानेका कुराहरू कुनै एक व्यक्तिमा सञ्चार गरिनु असम्भव पाएपछि, आदियोगीले सातजनालाई योगका सातवटा फरक–फरक आयामहरू सञ्चार गरेका थिए । सप्तऋषिले पछि विश्वका विभिन्न भू–भागमा त्यसलाई फैलाउने काम गरेका थिए ।
हजारौँ वर्षअघि, पतञ्जलिको समयमा योग विशेषज्ञताको दृष्टिले प्रधान हुँदै गइरहेको थियो, जसकारण योगका सयौँ विद्यालयहरू स्थापित भएका थिए— आजको चिकित्सा विज्ञानमा जस्तै जहाँ हरेक कुराको लागि फरक–फरक विशेषज्ञ हुने गर्छन् । उदाहरणको लागि मानौँ तीस वर्षअघि तपाईंसँग एकजना पारिवारिक डाक्टर हुने गर्थे । अहिले शरीरको हरेक अङ्गको लागि छुट्टै डाक्टरहरू छन् । सायद अबको ५० वर्षमा यदि तपाईंले स्वास्थ्य परीक्षण गराउन चाहनुभयो भने, १०० जना डाक्टरहरू चाहिने हुन सक्छ । तपाईंले यी १०० जना डाक्टरहरूसँग भेट्न पाउने बेलासम्म तपाईं कि त स्वस्थ बन्नुहुन्छ वा श्वास छोड्नुहुन्छ !
जब विशेषज्ञताले हद नाघ्छ, तब त्यो व्यवहारिकताको नाममा हास्यस्पद बन्दछ । विस्तारमा अध्ययन गर्नु महत्त्वपूर्ण छ, तर जब मानिसहरूले सिक्ने र प्रयोग गर्ने कुरा आउँछ, तब त्यो उदेक लाग्दो बन्दछ । त्यसबेला, योगको सन्दर्भमा पनि यस्तै भएको थियो— सयौँ योग विद्यालयहरूले योगका विभिन्न आयामहरू प्रदान गरिरहेका थिए । पतञ्जलिलाई यो असाध्यै अव्यवहारिक महसुस भयो । योगका विविध रूपहरूलाई अर्थपूर्ण रूपमा बुझ्नको लागि जो कसैलाई पनि कठिनाइ हुने आभाष भएपछि पतञ्जलिले सम्पूर्ण पक्षहरू समेटेर योग सूत्र रचना गरे ।
आज जो कसैले किताब लेखेर त्यसलाई प्रकाशित गर्न सक्ने भएकोले योग सूत्रका सयौँ व्याख्याहरू पाइन्छन् । तर, योग सूत्र व्याख्या गर्न सकिने दर्शन होइन । न त योग सूत्रहरूमा कुनै अभ्यासहरू नै बताइएका छन् । ती वैज्ञानिक दस्तावेज जस्तै हुन् । योग सूत्रमा कुन कुराले हाम्रो प्रणालीमा के गर्छ भनेर बताइएको छ । तपाईंको अभिप्राय के हो अनि तपाईं यस प्रणालीमा के गर्न चाहनुहुन्छ भन्ने कुरामा आधारित रहेरै तपाईं निश्चित क्रिया–अभ्यास निर्माण गर्न सक्नुहुन्छ ।
‘सूत्र’ को शाब्दिक अर्थ धागो हो । भलै, धागोमा माला उनिने भएपनि तपाईं धागोको लागि माला लगाउनुहुन्न । तपाईं धागोमा कस्तो प्रकारको फूल, मणि, मोति वा हिरा जडित गर्नुहुन्छ भन्ने कुरा माला बनाउने व्यक्तिको कुशलतामा निर्भर गर्दछ । पतञ्जलिले पनि सूत्र मात्र प्रदान गरेका छन्, किनकि सूत्र (धागो) बिना माला बनाउन सकिँदैन । यही सूत्रको प्रयोग गरेर प्रत्येक गुरुहरूले आफ्नै किसिमको माला बनाउने गर्छन् । तपाईं धागोको लागि माला लगाउनुहुन्न, त्यसैले धागोलाई हेरेर कुनै निष्कर्षमा नपुग्नुहोस् । धागो महत्त्वपूर्ण छ, तर यो आफैँमा लक्ष्य भने होइन । सूत्रहरू पढ्नको लागि अनि तार्किक रूपमा बुझ्नको लागि रचिएका होइनन् । यदि तपाईंले यसलाई तर्कको दृष्टिले हेर्नुभयो अनि बुद्धिले बुझ्ने प्रयत्न गर्नुभयो भने, त्यो मूर्खता हुनेछ ।
जो व्यक्ति कुनै विशेष अनुभवको अवस्थामा हुन्छ, उसको निम्ति यो धागो असाध्यै महत्त्वपूर्ण हुन्छ । यही धागोको उपयोग गरेर उसले सुन्दर माला बुन्दछ । पतञ्जलिका योग सूत्रहरू कुनै किताब जसरी पढ्नको लागि रचिएको होइन । तपाईं एउटा सूत्र लिनुहोस् अनि यसलाई आफ्नो जीवनको यथार्थ बनाउनुहोस् । यदि तपाईंको जीवनमा एउटा सूत्र मात्रै पनि जीवित वास्तविकता बन्यो भने, तपाईंले बाँकी सूत्र पढिरहन जरूरी छैन ।
भलै, वेद र उपनिषदहरू भाषागत रूपमा अत्यन्तै उत्कृष्ट र काव्यात्मक रूपमा असाध्यै सुन्दर भए तापनि, यो जीवन र यसभन्दा परको बारेमा उल्लेख गरिएका ग्रन्थहरूमा पतञ्जलिका योग सूत्रहरू सबैभन्दा उत्कृष्ट रहेका छन् । यसमा उनले कुनै अभ्यासहरू सिकाएका छैनन्; भाषागत रूपमा उनी यति निपुण थिए कि उनले यी सूत्रहरू यसरी संयोजन गरे जसमा कुनै विज्ञहरूलाई रुचि नजागोस् । जीवनका आयामहरू खोल्नको लागि यसलाई सूत्र वा फर्मूलाको रूपमा प्रयोग गर्न सकियोस् भन्ने अभिप्रायले नै त्यसो गरिएको थियो ।
जब तपाईं विगतलाई पुनः दोहोऱ्याउने काम गर्नुहुन्छ, तब तपाईंको जीवनमा एउटा ढाँचा निर्माण हुन्छ । यदि तपाईंको मन स्मृति र कल्पनामा मात्रै मग्न भइरह्यो भने, यो ढाँचालाई भत्काउन सकिँदैन— तपाईं यसमै बन्दी बन्नुहुन्छ र यो एक प्रकारको दासत्व हो । मूलत: आफू मनको गतिविधिहरूमै बन्दी भएको र सृष्टिको भव्यतालाई अस्तित्वको स्तरमा अनुभव गर्नबाट बञ्चित रहेको कुरा ज्ञात हुनु नै मुक्तितर्फ पहिलो पाइला हो ।
अत: तपाईंलाई मुक्ति वा आत्मज्ञानतर्फ डोहोऱ्याउन सक्ने प्रविधि अर्थात् योगलाई पतञ्जलिले चित्त वृत्ति निरोध भनेका हुन् ।
Comments