नारायणहिटी राजदरबार हत्याकाण्डको २२ वर्ष पूरा
नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ ।
२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
हत्याकाण्डको २२ वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन।
शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भयो। राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा र कुमार खड्गविक्रम शाह पनि मारिए।
हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरेकाे थियाे । तर, नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमै छ ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन्।
Comments