महिलालाई भन्दा पुरुषलाई यसकारण लामखुट्टेले बढी टोक्छ

एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् ।‘ठूला शरिरका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन् ।  उनीहरूको अधिक सापेक्षिक ताप वा कार्बन डाइअक्साइडका कारण ठूला शरिर भएका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन्’, अध्ययनमा भनिएको छ । पहिले यो विश्वास थियो कि लामखुट्टे पुरुषभन्दा महिलाप्रति बढी आकर्षित हुन्छन् । सन् २००० मा ल्यान्सेटले गरेको अध्ययनमा अन्य महिलाले भन्दा गर्भवती महिलाहरूले लामखुट्टेलाई बढी आकर्षित गर्ने निस्कर्ष निकालिएको  थियो । गर्भवती महिलाहरूले श्वसमार्फत अधिक मात्रामा कार्बन डाइअक्साइड फाल्ने र शरीरको ताप उच्च हुँदा उनीहरूलाई लामखुट्टेले सजिलै पत्ता लगाउने अध्ययनमा उल्लेख थियो । 

न्यूयोर्कको एलर्जी एण्ड अस्थमा केयरका डा. क्लिफर्ड डब्ल्यु बससेटका अनुसार कार्बन डाइअक्साइडका अतिरिक्त ल्याक्टिक एसिड पनि लामखुट्टेलाई बलियो आकर्षण गर्ने तत्व हो । त्यसैले मानिसलाई बाहिर निस्कँदा र पसिना आउँदा लामखुट्टेले बढी टोक्छ । रोचक पक्ष के छ भने पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छ, किनभने तिनीहरूले मानव शरीरको रगतबाट प्रोटिन निकाल्छन्, जसले तिनीहरूको अण्डा बढाउन मद्दत गर्दछ । अध्ययन एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित छ ।

-एजेन्सी 

Comments

Back to top