टोनी फर्नान्डेज: जसले २६ पैसामा किनेको कम्पनीलाई साढे २ अर्ब डलरको बनाए


ऋणको भारी बोकेर मृत्युको शैयामा पुगेको एयर एसिया हवाइ कम्पनी यात्रुलाई सस्तो शुल्कमा टिकट बेचेर कसरी फाइदामा पुग्यो र व्यापारमा गरेको ‘बाउन्स ब्याक’ को कहानी धेरैका लागि अपत्यारिलो लाग्न सक्छ ।

सन् २००१ सम्म वार्नर म्यूजिक कम्पनीमा सफलताको स्वादमा चाखिरहेका टोनी फर्नान्डेजले एयरलायन्स बिजनेशमा हात हाले । चुर्लुम्मै ऋणमा डुबेर बन्द हुने अवस्थामा पुगेको एयरलायन्स कम्पनी एयर एसियालाई २६ सेन्ट मूल्यमा खरिद गरे ।
त्यसको तीन दिनपछि अमेरिकामा २००१ नोभेम्बर मा आंतकवादी हमला भयो ।

आंतकवादी संगठन अलकायदाले हवाइजहाज कम्पनी अपहरण गरेर ट्वीन टावरमा ठोक्काएका थिए । जसले गर्दा विश्वमा हवाइयात्रा गर्ने यात्रुहरु २.७ प्रतिशतले कम भए । मुनाफा कमाइरहेका हवाइ कम्पनीको व्यापार घट्दो भयो । यही बेला डुब्ने अवस्थामा पुगेको एयर एसियाले मुनाफा गर्न सुरु गर्यो । फलस्वरुप एक वर्षमै कम्पनी फाइदामा पुग्यो । कम्पनीले १ वर्षमा १.५ मिलियन अमेरिकी डलर आम्दानी गर्यो ।

टोनीले तत्कालको समयमा सस्तोमा हवाइ टिकट उपलब्ध गराए । अब सबै हवाइ यात्रा गर्न सक्छन भन्ने धारणमा व्यापारलाई अगाडि बढाए । आजको दिनसम्म आइपुग्दा विश्वमा सबैभन्दा सस्तो शुल्कमा यात्रु बोक्ने हवाइ जहानका रुपमा १० वर्षदेखि पहिलो नम्बरमा स्थापित छ ।

११ मिलियन डलर ऋण बोकेको कम्पनी कसरी एक वर्षमै मुनाफा कमाउने कम्पनी बन्यो त ? यसको उत्तर कम्पनीका मालिक तथा सीईओ टोनी फर्नान्डेज आफै हुन । ‘कम्पनीका लागि राम्रा मान्छे खोज्न सक्ने क्षमता मेरो सबैभन्दा बलियो पक्ष हो’ ५४ वर्षे फर्नान्डेजले जवाफ फर्काए ।

‘मेरो बिचारमा मेरो सबैभन्दा ठूलो क्षमता हो, सबैभन्दा राम्रा मान्छे खोज्न सक्नु हो’ हालै सिंगापुरमा आयोजित “मनी २०२०”को फाइनान्स कन्फरेन्समा बोल्दै उनले थपे, ‘कुनै पनि कम्पनीका नेतृत्वकर्ताको एक मात्र काम हो, कम्पनीका लागि राम्रा मान्छेको खोजी गर्नु । त्यससँगै जोडिन्छ, ती कर्मचारीलाई लामो समयसम्म साथमा राख्ने क्षमता ।’

फर्नान्डेजले अगाडि थपे, ‘सही नेतृत्वकर्ताले तीन वटा कुरामा सधै सचेत रहनुपर्छ । पारदर्शिता, प्रसंशा र कर्मचारीलाई क्षमता अभिवृद्धी गर्न दिन सक्ने क्षमता ।’

अहिले कम्पनीसँग कुल २.५८ बिलियन डलर सम्पत्ती छ । एयरएसिया अन्तर्गत अहिले १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन, १६९ एयरबस ए ३२० र ए ३३० जेटले प्रत्येक वर्ष झण्डै साढे २ करोड यात्रु बोक्छन् ।

फर्नान्डेज मलेसियामा जन्मिएर लन्डनको स्कुल अफ इकोनोमिक्सबाट ग्रयाजुएट थिए । सुरुमा अकाउन्टेन्ट र पछि म्यूजिक उद्योगमा रमाइरहेका उनीसँग एयर एसिया खरिद गर्नु अगाडि एयरलायन्सबारे कुनै ज्ञान थिएन ।

सन् २०१८ स्काइट्याक्स कम्पनीले गरेको रिसर्चमा हवाइ यातायातको क्षेत्रमा एयरएसिया १० वर्षसम्म निरन्तर सबैभन्दा कम शुल्कमा सेवा प्रदायक कम्पनी बन्यो ।

यस कार्यका लागि फर्नान्डेजले राम्रा टिम खेलाडी खोजी गरे जसमा राम्रो कम्प्युनिकेशन स्किल र दृढ संकल्प भएका खेलाडी रोजाइमा पारे । ‘म कम्पनीका लागि कामप्रति भोक जगाउने मानिस रोज्छु’ उनले भने, ‘मेरो टिममा हेर्नु भयो भने तपाईले धेरै कर्मचारीहरु यस्ता छन जो केही गरेका थिएनन तर जीवनमा कुनै न कुनै रुपमा आफूलाई प्रमाणित गर्न चाहन्छन ।’

फर्नान्डेजको यही सीप उनका लागि काम लाग्यो । जति बेला उनी नयाँ कम्पनी बिग पे (एयरएसियाको नयाँ मोबाइल पेमेन्ट एप) का लागि पार्टनर खोजी गर्दै थिए । लन्डनको बारमा भेटिए क्रिस्टोफर डेभिसन । ‘तत्कालिन समयमा मैले उनमा उद्यमीको रुपमा धैर्य र दृढ संकल्पको क्षमता देखे, र तत्कालै बिग पेको सह–सस्थापक र सीईओका रुपमा सँगै काम गर्ने निर्णय गरेँ’ फर्नान्डेजले सुनाए ।

‘धेरै कम्पनीहरु मान्छेको काम गर्न सक्ने क्षमता पहिचान गर्न सक्दैनन’, उनले अगाडि थपे, ‘एयर एसिया जस्ता धेरै कम्पनीमध्ये यो एक मात्र यस्तो कम्पनी हो जहाँ लेवर युनियन (एउटा समूह जुन कम्पनीमा कार्यरत कर्मचारीको अधिकारका लागि गठन हुन्छ) छैन् ।

‘मलाई के लाग्छ भने, हामीसँग त्यो पहिचान गर्न सक्ने क्षमता छ’ उनले थपे । ‘कर्मचारीका लागि काम गर्दा क्याजुल ड्रेस र स्टाफ र आफूबीचको सिधा सञ्चार सम्पर्क हुनु जरुरी छ । ताकी उनीहरुका हरेक समस्या जान्न सकुँ, उनीहरुले सिधा सम्पर्कमार्फत मलाई आफ्ना कुरा भन्न सकुन’ उनले भने ।

धेरै जसो बिहान उनी ब्यँझिदा स्टाफका सयौं म्यासेजहरुले मोबाइल भरिएको हुन्छ । ‘धेरै उद्यमीहरुलाई लाग्छ कि उनीहरुलाई सबै थाहा छ’, उनले अगाडि थपे ‘तर तपाईले तपाईसँग भएका मानिसका कुरा सुन्नैपर्छ।’

टोनीले पढाइ सकाएपछि केही वर्ष भर्जिन कम्प्युनिकेशनमा काम गरे । भविष्यमा फाइनान्सियल कन्ट्रोलर बन्ने लक्ष्य लिएका उनी वार्नर म्यूजिकमा प्रवेश गरे । जहाँ उनले ९ वर्ष साउथवेस्ट एसियन रिजनमा भाइस–प्रेसिडेन्टका रुपमा काम गरे ।

उनले हाल एयरलायन्ससँगै होटल टेलिकम्प्युनिकेशन, फाइनान्सियल सर्भिसेज, स्पोर्टस, मिडियालगायतका क्षेत्रमा लगानी गरेका छन् । 
एजेन्सी

Comments

Back to top