भियतनाममा ईभीको पार्ट्स कारखाना खोल्दै बीवाईडी

 चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले भियतनाममा विद्युतीय सवारी साधन उत्पादन गर्ने र एसेम्बल गर्ने  कारखाना विस्तार गर्ने भएको छ । चीनमाथिको निर्भरता कम गर्न अनि विश्वभर व्यवसाय आक्रामक रूपमा बढाउने नीति दक्षिण एशियाको आपूर्ति शृङ्खला थप गहन बनाउन BYD ले भियतनाममा व्यवसाय बढाउन लागेको हो ।

भियतनाम सरकारले कम्पनीको अध्यक्षलाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिले यस्तो देखाएको हो । कम्पनीले छिमेकी देश थाइल्यान्डमा पार्ट्स निर्यात गर्न भियतनाममा कारको पार्ट्स बनाउन कारखाना खोल्ने योजना बनाएको भनेर जनवरीमै अन्तरराष्ट्रिय समाचार संस्था Reuters ले समाचार छापेको थियो । 

लगानीको प्रक्रिया पूरा गर्न भियतनामले आफूलाई सहज हुने खालको अवस्था सृजना गर्ने आशा आफूले गरेको भियतनामी उपप्रधानमन्त्री ट्रान होङ हासँग भेटवार्तापछि जारी एउटा विज्ञप्तिमा बीवाईडीका अध्यक्ष वाङ चुआनफुले भनेका थिए । 

व्यवसाय विस्तारमा कम्पनीले कति लगानी गर्नेछ भन्नेबारे भने विज्ञप्तिमा केही भनिएको छैन । अहिले बीवाईडीले उत्तरी भियतनामको फु थो प्रान्तमा विद्युतीय उपकरण र पार्ट्सहरू एसेम्बल गर्ने कारखाना चलाइरहेको छ । बीवाईडीको उपस्थिति बढ्दा घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी भिनफाष्ट (Vinfast)सँग टक्कर पर्नेछ । 

भिनफाष्टले सन् २०१९ मा कार बेच्न शुरु गरेको थियो । कम्पनीले अमेरिका र यूरोपमा समेत व्यवसाय विस्तार गर्ने योजना बनाइरहेको छ । गएको वर्ष सेप्टेम्बरमा बीवाईडीले सन् २०२४ देखि वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको ईभी एसेम्बली कारखाना बनाउने घोषणा गरेको थियो । एजेन्सी

Comments

Back to top