म्याक्सिम गोर्की: संसारकै उत्कृष्ट उपन्यासकार, कथाकार र नाटककारको प्रेरक व्यक्तित्त्व!

गोर्कीको खास नाम आलेक्सेई म्याक्सिमोभिच पेस्कोभ हो । लेखक भएपछि उनी  म्याक्सिम गोर्की नामले प्रसिद्ध भए। रुसी भाषामा गोर्कीको अर्थ हो, दुःखी । त्यो नाम उनले आफ्नै भोगाइबाट प्रेरित भएर राखेका थियो । गोर्की चार वर्ष हुँदा उनका सिकर्मी पिता म्याक्सिम सेबातेभिचको मृत्यु भयो । त्यसपछि उनी आमापट्टिकी हजुरआमा अकुलिना कासिरिनसँग बसे। 

गोर्की सात वर्ष हुँदा आमा भार्भाराले दोस्रो बिहे गरिन् । सौतेलो पिता निर्दयी थिए । भुइँमा पछारेर गर्भवती भार्भारालाई छातीमा बुटले लात्ती हिर्काउँथे । घर चलाउन उनले हाडका टुक्रा, थोत्रा कपडा, फलामका कबाडी बटुले  यसकै कारण स्कुलका साथीहरू उनलाई झुत्रे, मगन्ते भनेर हेप्थे । उनी १० वर्षको हुँदा आमा पनि सुकेनासले बितिन् । अनि हजुरबाले उनलाई घरबाट निकालिदिए। गरिबीले स्कुल छुटे पनि गोर्कीलाई लेखपढमा गहिरो रुचि थियो । 

उनलाई हाकिमले मन पराएको देख्दा सहकर्मीहरू ईस्र्या गर्थे ।  एक दिन तिनले गोर्कीलाई चोरीको झुटो आरोप पनि लगाए । उनलाई कामबाट निकालियो । छुट्टिँदा स्मुरीले भने, “यो खराब मानिसको ठाउँ हो । हरेक काम सिक्न कोसिस गर। आँखा खुला राख । केही नबोल । सिर्फ पढ । पुस्तकहरू मानिसका सबैभन्दा असल साथी हुन्।” 

स्मुरीको यही वचन उनको प्रेरणाको सूत्र बन्यो । उनले मौका पाउँदा लेखपढ गर्न भने छाड्नुभएन । एउटी युवतीले उनलाई रुसी लेखकका किताब उपहार दिइन् । यी किताब पढेर उनले आफ्नै देशवासीको जीवनबारे बुझ्न पाए। गोर्कीले कथा, कविता पनि लेख्न थाले। उनी आफ्ना कथा, कविता विभिन्न पत्रिकामा पठाउथे। सम्पादकहरू उनका रचना नपढी मिल्काइदिन्थे । 

अलेक्जेन्डर कास्युनीले उनको कथा प्रसिद्ध पत्रिकामा छपाइदिए । त्यो कथा सबैले रुचाए । कथाको शीर्षक थियो, ‘मकार चुद्रा’। रुसका ठूला लेखक भ्लादिमिर कोरोलेङ्कोसँग भेट भएपछि लेखन शैली सुधार्न गोर्कीलाई धेरै सहयोग गरे । उनैले गोर्कीका रचना रुसको प्रसिद्ध पत्रिकाहरूमा छपाइदिए । उनका रचना पहिला रुसभरि प्रसिद्ध भए । बिस्तारै ती विश्वप्रसिद्ध भए । पछि उनी पाँचपल्टसम्म नोबेल पुरस्कारका लागि मनोनीत भए। 

गोर्की संसारकै उत्कृष्ट उपन्यासकार, कथाकार र नाटककार मानिनु हुन्छ । सन् १९०७ मा प्रकाशित ‘आमा’ उनको सबैभन्दा प्रसिद्ध उपन्यास हो । ‘निकृष्ट खाल्डो’ उनको विश्वप्रसिद्ध नाटक हो । मानवताका पक्षमा निरन्तर आवाज उठाए । दुःखसँग हार नखाने र लेखपढ गर्ने उत्कट इच्छाले नै उनी विश्वप्रसिद्ध लेखक बने । सन् १९३६ जुन १८ मा उनको निधन भयो तर महान् लेखकका रूपमा उनी सधैँ जीवित रहने छन्। 

Comments

Back to top