मौसमी फ्लु झनै घातक, अपनाऊँ यस्ता सावधानी!
हुन त, हरेक सिजनमा फ्लुको जिनमा परिवर्तन हुने भएकाले कति कडा हुन्छ भनेर सही भविष्यवाणी गर्न सकिने अवस्था छैन । तर, विभिन्न अवस्थाको अध्ययन गरेर अनुमान भने लगाउने गरिन्छ ।
हालसम्मका अनुभवलाई केलाएर हेर्ने हो भने सबैभन्दा बढी दीर्घ रोग भएकाहरु खासगरी श्वासप्रश्वास र दमका बिरामीले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
गत मनसुन फ्लुको समयमा मृत्यु हुनेहरुमा अधिकांश श्वासप्रश्वाससँग सम्बन्धित बिरामी नै थिए । र, त्यसमा वृद्धवृद्धाहरु पनि थिए ।
यसर्थ, त्यस्ता मानिसमा सामान्य रुघाखोकीका लक्षण देखिएमा मात्र पनि तुरुन्त चिकित्सककोमा सम्पर्क गर्नु पर्छ । त्यस्ता व्यक्तिमा निमोनिया छिटो विकसित हुने गर्छ ।
घर बाहिर रहँदा हातलाई नाक, मुख र आँखामा घरि-घरि लग्नु हुँदैन । घरबाहिरबाट फर्केपछि घरको सरसामान छुनुअघि साबुनपानीले राम्ररी हात धुनु पर्छ । आफू संक्रमित भएमा घरमै बसेर झोलिलो खानेकुरा खाएर स्वास्थ्य लाभ लिन सकिन्छ । तर, श्वास प्रश्वासमा समस्या देखिए तुरुन्त चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।
यी उपायहरु सधैं अपनाउन गाह्रो हुने र कतिपय अवस्थामा व्यावहारिक नहुन पनि सक्छ । तसर्थ, खोपको प्रभावकारिता कम देखिए पनि लगाउनु उत्तम हुन्छ ।
नेपाली समाजमा अहिले पनि रुघाखोकीलाई अति नै सामान्य रोगको दर्जा दिएको देखिन्छ । तर, गत मनसुनमा कम्तिमा १२ जनामा फ्लुबाट सिर्जित समस्याका कारण मृत्युवरण गर्नुपरेको तथ्यलाई भुल्नु हुँदैन । त्यसैले, फ्लुलाई नजरअन्दाज नगरौं ।
Comments