रोचक: केबल चकलेट चाखिदिने काम गरेबापत करिब एक करोड रुपियाँ तलब
बजार घुम्न जाँदा होस् वा लामो सफरमा घरबाहिर जाँदा चकलेट नभई बालबालिका फिटिक्कै पाइला चाल्दैनौँ । चकलेट अहिले बालबालिकादेखि वृद्धवृद्धाको दैनिकीमा अभिन्न अङ्ग बनेको छ ।
कोको रुखको फलको बियाँ (बीउ) निकालेर घाममा सुकाइन्छ त्यसपछि सुकेको बियाँलाई पिसेर मैदाको पीठोजस्तो धुलो तयार पारिन्छ । यसरी तयार पारिएको सो धुलोमा चिनी, दूध तथा हाइड्रोजेनेटेड भेजिटेबल तेललाई गाई वा भैँसीको दूधमा मिसाएर जमाउने गरिन्छ । यसरी जमेको ठोस वस्तुलाई विभिन्न साइज वा आकारमा काटेर अलग–अलग प्याकेटमा बन्द गरी बजारमा बिक्री वितरणका लागि तयारी रूपमा पठाइन्छ । त्यो नै चकलेट निर्माणको आधारभूत प्रक्रिया हो । त्यसो त चकलेट चियाजस्तै पेय पदार्थका रूपमा समेत सेवन गर्ने गरिन्छ ।
एउटा कम्पनीले चाहिँ गज्जबको जागिर खुलाएको छ । त्यो जागिरमा तपाईंले केबल चकलेट चाखिदिने काम गरेबापत करिब एक करोड रुपियाँ तलब पाउनु हुनेछ । एउटा चकलेट कम्पनीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञापनले अहिले राम्रै चर्चा पाइरहेको छ ।
क्यानडास्थित क्यान्डी फनहाउस नामक उक्त कम्पनीले एक जना चिफ क्यान्डी अफिसरको पदका लागि विज्ञापन खुलाएको हो । भाइबहिनीहरू ! अर्को रोचक कुरा के छ भने प्रमुख क्यान्डी अधिकृत पदमा आवेदन गर्न बालिग हुनु पर्दैन । यसका लागि पाँच वर्ष उमेर पुगेका जो कोही बच्चाले पनि आवेदन गर्न सक्छन् ।
क्यान्डी फनहाउसका सीईओ जमिल हेजाजीका अनुसार क्यान्डी अफिसरले एक दिनमा केबल एक सय १७ वटा क्यान्डी तथा चकलेट चाख्नुपर्नेछ । त्यसबापत उनले वार्षिक साढे ९८ लाख रुपियाँ बराबरको तलब पाउनेछन् ।
Comments