दम्पतीबीच धेरैजसो झगडा यस्ता निहुँमा हुन्छ, जान्नुहोस!
दम्पतीबीच हुने झगडाले कतिपय भ्रम, असमझदारीलाई मेट्छ । आफ्ना पार्टनरलाई के कुरामा चित्त बुझेको छैन वा बुझ्दैन भन्ने कुरा थाहा हुन्छ । उनीहरू एकअर्कालाई चित्त नबुझेको कुरा खुलेर व्यक्त गर्छन् । यसले उनीहरूलाई एउटा समझदारीको विन्दुमा पुर्याउँछ । अतः यस किसिमको झगडाले दम्पतीबीचको सम्बन्ध अरू परिपक्क र बलियो हुँदै जान्छ ।
के निहुँमा हुन्छ झगडा ?
दम्पतीबीच हुने झगडाको निहुँ उनीहरूको दाम्पत्य अवधिले पनि निर्धारण गर्छ । सुरुवाती दिनमा दम्पतीबीच एकअर्काको रुचि र आकांक्षालाई लिएर हुने गर्छ । त्यसपछि बच्चाको निहुँमा । त्यसपछि फेरि घर व्यवहारको निहुँमा ।
पहिलो चरणमा : एकअर्काको रुचि, आनीबानी र आकंक्षा
दुवै एकअर्कासँग राम्ररी परिचित भइसकेका हुँदैनन् । अर्थात्, एकअर्काको आनीबानी, प्रवृत्ति, सोच, रुचिबारे दुवैलाई थाह हुँदैन। विवाहको सुरुवाती दिनमा उनीहरूलाई एकअर्काको व्यवहार र सोच र चिन्तन बुझ्नै समय लाग्छ । यहि क्रममा उनीहरूबीच कतिपय असझदारी हुन्छ । ठाकठुक पर्छ ।
दोस्रो चरणमा : बालबच्चको निहुँमा
बच्चा जन्माइसकेपछि भने उनीहरू एक हिसाबले परिपक्क भइसकेका हुन्छन् । आफ्ना पार्टनरले के चाहन्छन्, के रुचाउँछन् भन्ने कुरा बुझिसकेका हुन्छन् । यद्यपि बच्चाको विषयलाई लिएर उनीहरूबीच झगडा हुन्छ ।
बच्चालाई राम्ररी स्याहार नगरेको, बच्चालाई राम्ररी नखुवाएको आदि निहुँमा दम्पतीबीच झगडा हुन्छ । बच्चा फोहोरमा खेले, चोटपटक लागेमा पनि उक्त विषयलाई लिएर दम्पतीबीच भनाभन पर्छ ।
तेस्रो चरणमा : घरायसी विषयलाई लिएर
बच्चा हुर्किँदै गएपछि उनीहरूले बच्चाकै निहुँमा झगडा गर्न छाड्छन् । यद्यपि अर्को निहुँ बन्छ घरायसी कुरा । घरायसी व्यवहार मिलाउने क्रममा दुवैबीच ठाकठुक पर्छ । घरको खर्च कसरी कम गर्ने, सामग्रीहरू कसरी जतन गर्ने, चाडपर्व कसरी टार्ने भन्ने विषयमा भनाभन पर्छ । यसैगरी आमाबुबा, सासुससुरा, नन्द भाउजू आदिलाई निहुँ बनाएर पनि उनीहरूबीच मनमुटाव हुन्छ ।
चौथो चरण : आपसी आशंका र अविश्वास
सबै दम्पतीबीच यो विषयले प्रवेश पाउँछ भन्ने छैन । पहिलो चरणमै परिपक्क भइसकेका दम्पतीबीच अविश्वास र आशंकाको स्थिति रहँदैन । तर, कतिपय दम्पतीबीच भने एकअर्कामा आशंका गर्ने वातावरण बन्न थाल्छ । अहिले फेसबुक जस्ता सामाजिक सञ्जाल यसको अर्को निहुँ बनेको छ ।
आफ्ना पार्टनर हरक्षण मोबाइलमा लिप्त भइरहँदा वा अरू नै साथीहरूसँग रमाइरहँदा दम्पतीबीच आशंका पैदा हुन्छ ।
साइड इफेक्ट
दम्पतीबीचको झगडा उनीहरूमा मात्र सीमित हुँदैन । यसले सबैभन्दा बढी पिरोल्ने भनेका साना बालबच्चालाई हो । उनीहरू बेकसुर आमाबुबाको झगडाको सजाय भोग्न बाध्य हुन्छन् । त्यसैगरी यसले पारिवारिक माहोल बिथोल्छ । परिवारका अन्य सदस्यलाई पनि समस्यामा पार्छ ।
के छ उपचार ?
दम्पतीले यदि कुनैपनि असमझदारी वा अविश्वास भए त्यसमा छलफल गर्न सक्छन् । हुन त रिसलाई नियन्त्रण गर्न कठिन छ, यद्यपि पारिवारिक सुखका लागि यो आवश्यक पनि छ । त्यसैले, धैर्यता र विनम्रता नै दम्पतीबीच हुने झगडाको ओखती हो ।
Comments