संसारकै क्रूर शासक जसले आफ्नो शासन–सत्ता टिकाउनका लागि मानवताकै सङ्कट पैदा गरे !

विश्वमा यस्ता अनेक शासक तथा नेता पैदा भए जो आफ्नो शासन–सत्ता टिकाउनका लागि मानवताकै सङ्कट पैदा हुने गरी क्रूरताको सीमा नाघ्न हिच्किचाएनन् । बितेको एक सय तीस वर्षमा यस्ता अनेकौँ राजनीतिक नेताहरूले भयावह रूपमा जनसंहार या हत्याका साथै अनेकौँ क्रूर क्रियाकलाप गरे जसका कारण तिनका नाम इतिहासमा दर्ता भएको छ । तिनैमध्येका आठको यहाँ सङ्क्षिप्त चिनारी दिइएको छ ।

याकुबु गौवन :
नाइजेरियाका याकुबु गौवन शासनमा रहेका निरङ्कुश एवम् क्रूर पात्रमध्ये अग्रपङ्क्तिमा पर्छन्। युद्धको क्रममा लगाइएको नाकाबन्दी तोडेको आरोपमा उनले एघार लाख नागरिकलाई अत्यन्त क्रूरताका साथ मारेका थिए, जसमध्ये दश लाख आमनागरिक र एक लाख सैनिक थिए ।

मिनगिसु हैल मरियम :
अहिले पनि जीवित नै रहेका मिनगिसु हैल मरियमले सन् १९७४ देखि १९९१ सम्म इथियोपियामा सत्ता सम्हालेका थिए । प्रतिस्पर्धा या विरोधमा उत्रिनेलाई दायाँबायाँ विचार नगरी हत्या गरिहाल्नुपर्छ भन्ने उनको फर्मुला थियो । लालआतङ्क अभियानका लागि मरियमको नाम अगाडि आउँछ, जसका कारण १५ लाख मानिसले जीवनबाट हात धुनुपयो ।

किम इल सुङ :
यतिबेला उत्तर कोरियाका किम जोङ उनको सनकीपनले अमेरिकाजस्तो महाशक्तिराष्ट्रलाई समेत तनावमा पारेको छ । यिन किमका हजुरबाउ थिए किम इल सुङ, जसको सनक र क्रूरताका कारण १६ लाख नागरिकको अनाहकमा ज्यान गएको विश्वास गरिन्छ । किम इल सुङ पनि अहिले आफ्ना नातिले जस्तै अमेरिकालाई आफ्नोसामु तुच्छ ठान्दथे भने आफूलाई भगवान्सरह मान्न जनतालाई बाध्य पारेका थिए ।

पोलपोट :
आफूलाई खुँखार साम्यवादी ठान्ने पोलपोटले आफ्ना सेनाको आडमा सन् १९७५ मा कम्बोडियाको सत्ता कब्जा गरेका थिए । त्यसको अर्को वर्ष आफूलाई साम्यवादी सरकारको प्रधानमन्त्री घोषणा गरेर उनले तानाशाही शासन सुरु गरे भने खमेर रुज सङ्गठनबाट उनले १९८५ मा रिटायरमेन्ट लिएका थिए । १७ लाख मानिसको हत्याका लागि जिम्मेदार उनको मृत्यु १९९८ मा भएको हो ।

एडोल्फ हिटलर :
२० अप्रिल १८८९ मा अस्ट्रियामा जन्मेका एडोल्फ हिटलर राष्ट्रिय समाजवादी जर्मन श्रमिक पार्टीका नेता थिए भने निकै वर्ष उनी जर्मनीका शासक रहे । एक करोड दश लाख मानिसको मृत्युको कारण बनेका हिटलर यहुदीको कट्टर विरोधी थिए । करिब साठी लाख यहुदीको उनले ज्यान लिएको ठानिन्छ । सात करोडको ज्यान जाने गरी भएको दोस्रो विश्वयुद्धको प्रमुख कारक–व्यक्तिको रूपमा इतिहासमा नाम लेखिएका हिटलरले आत्महत्या गरेका थिए ।

जोसेफ स्टालिन :
सोभियत सङ्घका संस्थापकमध्येका एक भ्लादिमिर लेनिनले समेत अत्यन्त रुखो स्वभावका व्यक्ति भनेर टिप्पणी गर्नुपरेका पात्र हुन् जोसेफ स्टालिन । लेनिनको शङ्कास्पद अवस्थामा भएको मृत्युपछि तत्कालीन सोभियत रुसको सत्ताको कमान्ड सम्हालेका स्टालिनले आफ्ना हरेक विरोधीको हत्या गरे । ३१ वर्षको शासन अवधिमा उनले २ करोड मानिस मारेको तथ्याङ्क छ ।

इदी अमिन :
सात वर्ष युगान्डाको सत्ता सम्हालेका इदी अमिनलाई क्रूरताको प्रतीक नै मानिन्छ । हत्या र यातनाको लहर अमिनले यसरी चलाएका थिए कि उनलाई ‘युगान्डाको कसाई’ पनि भनिन्थ्यो । उनी आफूलाई मन नपरेको मानिसको मुटु–कलेजो नै खान्थे भन्ने कैयन लेखोटमा उल्लेख गरिएको छ । इदी अमिनले २ लाख ५० हजारभन्दा बढी मानिसको ज्यान लिएका थिए ।

माओ त्से तुङ :
आधुनिक चीनका निर्माताको रूपमा विख्यात माओको कारण सन् १९४९ देखि १९७६ को अवधिमा पनि सात–आठ करोड नागरिकको ज्यान गएको तथ्याङ्क इतिहासमा अङ्कित छ। चीनले माओको मार्ग करिब–करिब छोडिसकेको ठानिए पनि चीनमा कम्युनिस्ट शासन–व्यवस्था स्थापना गर्ने माओलाई मान्नेको जमातचाहिँ अधिक नै रहेको छ ।

Comments

Back to top