प्याडको विकल्पमा आएको महिनावारी कप के हो ?
महिनावारीको बेला उपयोगी मानिएको महिनावारी कपको प्रोटोटाइप पहिलोपटक सन् १९३० को दशकमा प्रयोगमा आएको थियो । यसको पेटेन्टका लागि पहिलो निवेदन सन् १९३७ मा अमेरिकी अभिनेत्री लियोना चामर्सले दिएकी थिइन् ।
पछिल्ला केही वर्षहरू यसका धेरै आधुनिक र परिस्कृत संस्करणहरू आएका छन् । सिलिकन, रबर वा लेटेक्सबाट बनेका सानो कप आकारको यो सामग्रीले महिलाको जीवनमा विस्तारै-विस्तारै भए पनि सेनिटरी प्याडको स्थान लिन थालेको छ । सेनिटरी प्याड केवल एकपटक उपयोग गर्न सकिन्छ तर महिनावारी कप धेरै व्यवहारिक हुनुका साथै पटक पटक प्रयोग गर्न सकिन्छ ।
प्लास्टिकले बनेको लचिलो सामग्री भएकोले यसलाई महिलाको जनन्द्रीयभित्र राख्दा कुनै पनि अप्ठ्यारो हुँदैन ।
दक्षिण अमेरिकी देश ब्राजिलको साओ पाउलोस्थित एक अस्पतालकी महिला रोग विशेषज्ञ अलेक्जेन्ड्रे यसबारेमा थप जानकारी दिँदै भन्छिन्, ‘यसको प्रयोग गर्ने महिलाहरूका अनुसार बिकनी र लेगिङ्स जस्ता कपडा लगाउँदा यसको प्रयोग गरिएको थाहा हुँदैन । यसले ट्याम्पोनजस्तो अनावश्यक तत्व पनि पैदा गर्दैन ।’
यो कप अनेकौं आकारमा उपलब्ध छन् । यसको लम्बाइ ४ देखि ६ सेमीको बीचमा हुन्छ । माथि यसको व्यास ३ देखि ५ सेमीको बीचमा हुन्छ । बढी रगत बग्ने महिलालाई ठूलो आकारको महिनावारी कप आवश्यक पर्छ ।
चिकित्सकको सुझावअनुसार प्रयोग गर्दा स्वच्छता र सुरक्षित प्रयोगको सवालमा यो सामग्री पूर्णरूपले सुरक्षित हुन्छ र यो १० वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
Comments