मानिसलाई सुँघेर क्यान्सर पत्ता लगाइदिने कमिला !

शरीरमा भएका क्यान्सर ट्युमरका कारण शरीरबाट भिन्न खालको केमिकल निस्कने गर्छ । भोलाटाइल अर्गानिक कम्पाउन्ड भनिने यो रसायन पसिना र पिसाबसँगै बाहिर निस्कन्छ । अब कमिलाले यसै केमिकललाई सुँघेर थाहा पाउनेछ र कुनै परीक्षण बिना नै कमिलाले कसैलाई क्यान्सर छ वा छैन भनेर पत्ता लगाउन सक्नेछ । कमिलाको नाक नभएका कारण, क्यान्सर सुँघ्न उनीहरुले आफ्नो एन्टेना प्रयोग गर्छन्। युरोप र दक्षिण एसियामा धेरै पाइने फोर्मिका फस्का कमिलाको प्रयोग गरी गरिएको अध्ययनलाई कुनै पनि खर्च र शरीरमा घाउ बिना नै ठूलो मात्रामा क्यान्सर पहिचान गर्न सक्ने महत्वपूर्ण बायोमार्करका रूपमा लिइएको छ ।

शोधका लागि वैज्ञानिकले मानिसको ब्रेस्ट क्यान्सरको सेल्स लिएर मुसामा ट्रान्सप्लान्ट गरिदिए र त्यसलाई बढ्न दिए । यो तरिकालाई जिनोग्राफ्टिङ भनिन्छ । यी मुसाको पिसाबसहित स्वस्थ मुसाको पिसाबको स्याम्पल लिएर त्यसलाई कमिलाको अगाडि राखियो । साथै यसमा रिवार्ड सिस्टम पनि थियो जसका लागि यी कमिलालाई पहिलादेखि नै तालिम दिइएको थियो । यसो गर्दा कमिलाले क्यान्सर सेल भएका स्याम्पललाई तुरुन्तै चिन्यो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा भइरहेको मृत्युको दोस्रो ठूलो कारण क्यान्सर हो । सन् २०१८ मा हरेक ६ मध्ये एकको मृत्यु कुनै न कुनै खालको क्यान्सर थियो । ब्रिटिश मेडिकल एसोसिएशनका अनुसार क्यान्सरको पहिचानदेखि यसको उपचार सुरु गर्नमा एक महिनाको ढिलाईले पनि मृत्युको जोखिम १० प्रतिशतसम्म बढाउने गर्छ । यस्तोमा समयमा क्यान्सरको पहिचान हुँदा ज्यान बचाउन निकै सहयोगी हुन सक्नेछ । यसैकारण वैज्ञानिकले लिक्विड बायोप्सीका लागि निकै आशा गरिरहेका छन् ।

क्यान्सरका लागि कमिलाको विषयमा पहिला पनि परीक्षण भइरहे । जस्तै केही वर्ष अघि कमिलामा पाइने एक केमिकलले क्यान्सरको औषधीको असर ५० गुणासम्म बढाउने एक अध्ययनमा दाबी गरिएको थियो । यो केमिकल ‘बिच्छु घास’ नामको बोटमा पनि पाइन्छ । साइन्स रिसर्च म्यागजिन ‘नेचर कम्युनिकेशन्स’ मा छापिएको एक अनुसन्धानमा बताइए अनुसार कमिला वा बिच्छु घासमा पाइने केमिकल ‘सोडियम फोस्फेट’ लाई क्यान्सरको उपचारमा समावेश गर्दा औषधीमा क्यान्सरग्रस्त कोसिकालाई नष्ट गर्ने क्षमता थुप्रै गुणा बढेको छ । गर्भाशयमा भएको क्यान्सरले ग्रस्त कोसिकामा प्रयोगशालामा गरिएको परीक्षणको बेला क्यान्सरको उपचारमा प्रयोग हुने औषधी JS07 को प्रयोग सोडियम फोस्फेटसँग गरियो तब यसको असर लगभग ५० गुणासम्म बढ्यो ।

Comments

Back to top