जोसेफ स्टालिन: कम्युनिस्टका आदर्श शासक जो थिए हिरो पनि भिलेन पनि !

तत्कालीन सोभियत संघका शासक जोसेफ स्टालिन कुनै बेला कम्युनिस्टका आदर्श थिए । उनी सोभियत संघका प्रख्यात ‘हिरो’ थिए । तर, पछि उनलाई नरसंहार गर्ने नेताका रूपमा अर्थ्याइयो र त्यहीअनुसार बुझ्न थालियो, अर्थात् ‘भिलेन’ भनियो ।

स्टालिनले जुन खालको जिन्दगी जिए, त्यो हेर्दा लाग्छ, उनले आफ्नो नाम सार्थक पारे । उनले रुसलाई यति शक्तिशाली बनाए कि दोस्रो विश्वयुद्धमा हिटलरको जर्मन सेनालाई समेत रुसले माथ खुवायो । उनी करिब चार दशकसम्म सोभियत रुसको सबैभन्दा ठूला नेता भएर रहे । 

तर भनिन्छ, उनको शासनमा अत्याचारको पनि सीमा थिएन । उनको नीति र आदेशका कारण कथित रूपका दशाैं लाख मानिस मारिए । कुनै बेला संसारकै शक्तिशाली नेता कहलिएका स्टालिनको जिन्दगी वास्तवमा एक सामान्य परिवारबाट सुरू भएको थियो।

स्टालिनको जन्म १८ डिसेम्बर १८७९ मा जर्जियाको गोरीमा भएको थियो । उनको बालापनको नाम थियो, जोसेफ विसारियोनोविच जुगाशविली । त्यो बेला जर्जिया रुसका बादशाह जारको साम्राज्यको हिस्सा थियो ।

स्टालिनका बुबा पेसाले एक चमार थिए, आमा कपडा धुने काम गर्थिन् । सात वर्षको उमेरमा स्टालिन स्मलपोक्सको बिरामी भएका थिए । जसका कारण उनको अनुहारमा दागैदाग बसेको थियो । यो बिमारका कारण उनको बायाँ हातमा खराबी आएको थियो ।

 जोसेफ स्टालिन आफूलाई एक कोमल हृदय भएको र देशभक्त नेताका रूपमा प्रचार गर्थे । तर, स्टालिन ती मान्छेहरूलाई मार्न लगाउँथे, जो उनको नीतिको विरोध गर्थे, चाहे त्यो सैनिक होस् वा कम्युनिस्ट पार्टीकै सदस्य । पार्टीको केन्द्रीय कमिटीका १ सय ३९ मध्ये ९३ सदस्यको हत्या गर्न लगाएको आरोप पनि स्टालिनमाथि लागेको थियो । यसपछि उनले सेनाका १ सय ३ जनरल र एडमिरलमध्ये ८१ लाई मारेका थिए ।

स्टालिनको गुप्त प्रहरी संयन्त्रले निकै कडाइका साथ उनको नीतिहरू कार्यान्वयन गर्ने गर्दथ्यो । साम्यवादको विरोध गर्ने ३ लाख मानिसलाई साइबेरियाको गुलाग क्षेत्रमा बस्नका लागि पठाइयो ।

दोस्रो विश्वयुद्ध सुरू भएपछि स्टालिनले जर्मनीका तानाशाह हिटलरसँग सम्झौता गरेर पूर्वी युरोपेली मुुलुकलाई आपसमा बाँडे । जर्मनीको सेनाले सजिलैसँग फ्रान्समाथि कब्जा जमायो । बेलायत पनि पछि हट्नुपर्‍यो ।

५ मार्च १९५३ मा हृदयाघातका कारण स्टालिनको निधन भयो । सोभियत संघमा धेरै मानिसले उनको मृत्युमा शोक मनाए । उनलाई महान नेता भनियो, जसले देशलाई एउटा नयाँ उचाइमा पुर्‍याएका थिए, हिटलरलाई पराजित गर्न महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

तर, सोभियत संघमै लाखौं मानिस यस्ता पनि थिए, जसले स्टालिनको मृत्युमा दीपावली नै गरे । स्टालिनपछि निकिता ख्रुश्चेभ सोभियत संघको नेता बनेका थिए ।

समग्रमा स्टालिनको जिन्दगी एक यस्ता व्यक्तिको रूपमा रह्यो, जसको सुरूवात त क्रान्तिबाट भएको थियो तर पछि उनी सन्की तनाशाह बने । अर्थात् हिरो पनि थिए र भिलेन पनि ।

 

Comments

Back to top