श्वास गन्हाउने समस्या भएकालाई क्यान्सरको खतरा
मुख हाम्रो महत्वपूर्ण अङ्ग हो । हाम्रो शरीरलाई आवश्यक खाना हामीले मुखबाट नै खाने गर्छौं । त्यसैले पनि मुख स्वास्थ्य महत्वपूर्ण अङ्गको रुपमा मानिन्छ।
तर श्वास गन्हाउने समस्याले कतिपय मानिस विभिन्न सभासमारोहमा जान पनि हिच्किचाउनुपर्ने अवस्था गर्छन् । मुख तथा श्वास गन्हाउँदा अरुलाई पनि समस्या हुन्छ भने सम्बन्धित व्यक्तिलाई पनि झनै गाह्रो भइरहेको हुन्छ।
श्वास तथा मुख किन गन्हाउँछ ? दाँत सफा गर्दा ध्यान दिनुपर्नेलगायत विषयमा दन्त रोग विषेशज्ञ डा. सुवास घिमिरेको सुझाव यस्तो छ । डा. घिमिरे ओम समाज डेण्टल अस्पतालका सञ्चालक समेत हुन् ।
श्वास गन्हाउनुको कारण
बिहान उठ्ने बित्तिकै ब्रस गरेन भने एक–दुई घण्टामै एक किसिमको ब्याक्टेरिया भरिँदै जान्छ । १२ घण्टाभित्र राम्रोसँग ब्रस गरिएन भने मुख गन्हाउन थाल्छ । दाँतको ५ भाग हुन्छ । हामी ब्रस गर्दा ३ भाग मात्रै गर्छौं । दाँतको ५ भाग राम्रोसँग सफा गर्न सकियो भने सामान्यतया १२ घण्टासम्म ब्रस नगर्दा पनि मुख गन्हाउने समस्या हुँदैन ।
मुख हाम्रो महत्वपूर्ण अङ्ग हो, त्यसैले यसको राम्रोसँग ख्याल गर्नुपर्ने हुन्छ । दाँतको उपचार गर्दा जस्तै दाँत भर्दा, राखिएको नयाँ दाँतमा समस्या आउँदा मुख गन्हाउन सक्छ । सामान्यतया दिनको ३ पटकसम्म दाँत माझ्दा राम्रो हुन्छ ।
राम्रोसँग सरसफाई नगर्दा ब्याक्टेरियाको कारणले पनि श्वास गन्हाउँछ । ब्याक्टेरियाको घाउले किटाणु ‘सलफाइड’ उत्पादन गर्छ, त्यसले पनि मुख गन्हाउँछ । साथै मुख गन्हाउनुका अन्य कारण पनि हुन्छन् । जस्तै दाँत किरा लागेको छ भने त्यसमा खानेकुरा अड्किन्छ । अनि त्यसलाई सफा नगर्दा दाँतमा पसेर कुहिन्छ । दाँत सिधा पार्नको लागि तार प्रयोग गरेको छ भने पनि राम्रोसँग सफा नगर्दा श्वास गन्हाउने हुन्छ ।
क्यान्सर पनि हुनसक्छ
साथै मुखभित्र घाउखटिरा आएको छ, टन्सिल भएको छ वा क्यान्सर भएको छ भने पनि यस्ता समस्याले मुख गन्हाउने हुन्छ । मिर्गाैला, कलेजो, मुटुको समस्याका साथै पेटमा पनि समस्या छ भने मुख तथा श्वास गन्हाउने गर्दछ । अनियन्त्रित मधुमेह भएको व्यक्तिको श्वास तथा मुख गनाउने समस्या आउन सक्छ ।
तर यी कुनै पनि कारण छैनन् । मुख स्वास्थ्य अवस्थामा हुँदा पनि श्वास गन्हाउँछ भने क्यान्सर भएको हो कि भनेर अनुमान गर्नुपर्ने हुन्छ ।
गाउँघरमा दाँत सफा गर्नको लागि दतियोन, बाँस, माझिझारको प्रयोग गर्ने चलन छ । तर, यस्ता कुराले दाँत सफा हुँदैन । यस्ता कुराले दाँत माझ्दा दाँतको भित्रीको भाग माझिँदैन । दाँतको दुई भाग मात्रै माझेर सफा हुँदैन । त्यसकारण पनि मुख गन्हाउन सक्छ । दाँत माझ्दा ब्रसको अनिवार्य प्रयोग गर्नुपर्छ।
दाँत किराले खाएर, गिजा सुनिने, रगत आउने, मुख गन्हाउने साथै अन्य मुखमा घाउखटिरको समस्या छ। प्रायः त्यही समस्या दोहोरिन्छ भने क्यान्सर हुन पनिसक्छ। सामान्य अवस्थामा पनि तपाईको श्वास गन्हाउने समस्या छ भने स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ ।
काचो प्याज सेवनपछि पनि हाम्रो मुख गन्हाउँछ । तर, यो गन्ध भने एकछिनमा हट्छ। श्वास तथा मुख गन्हाउने समस्या छ भने स्याउको सेवनले पनि कम गर्न सकिन्छ । स्याउले प्राकृतिक सफाइको काम गर्छ । साथै अन्य चपाउने खालका प्राकृतिक खानाले पनि दाँतको सफाइ गर्नुका साथै मुख स्वास्थ्यलाई फाइदा गर्छ ।
५ वर्षदेखि १७ वर्षको मानिसलाई डेन्टल संक्रमण हुन्छ भने मुटु सम्बन्धी रोग पनि हुन सक्छ। अन्य रोगका विशेषज्ञहरुले पनि डेन्टल इन्फेक्सनले विभिन्न रोग लाग्न सक्छ भनेर चेतना फैलाउन आवश्यक छ ।
Comments