रोचक: संसारको सबैभन्दा फेसनेबल परेवा
केही मानिस घरपालुवा पन्छीका सौखिन हुन्छन् । तिनीहरु घरपालुवा पन्छीलाई आफ्नै सन्तानलाई झैँ माया गर्छन् र खानेकुराका साथै उत्कृष्ट स्याहार सुसार गर्छन् । मानिसलाई भन्दा बढी सुख, सुविधा दिएर परिपूर्ण बनाउँछन्।
बेलायतको लिङ्कनसायरमा बस्ने मेगी जोन्सन पनि यस्तै सौखिनमध्येमा पर्छिन् । उनी आफ्ना दुईवटा परेवाका लागि हरेक महिना ४० देखि ६० हजार रुपैयाँ खर्च गर्छिन् । यति मात्रै होइन उनका परेवा असाध्यै फेसनेबल पनि छन्। ती परेवाका लगाउने लुगाले भरिएको छुट्टै दराज छ; छुट्टै सुत्ने कोठा छ र स्ट्रोलरमा बसेर बाहिर घुम्न निस्किन्छन् । यो कुरा सुन्दा सायद कसैलाई पत्यार नलाग्न सक्छ तर यथार्थ यस्तो छ।
२३ वर्षकी मेगी जन्सन पशु–पन्छी प्रेमी हुन् । उनले केही समय पहिले दुईवटा घाइते परेवा भेटेकी थिइन् । ती दुवै परेवा घरमा ल्याएर ६ हप्तासम्म राम्रोसँग स्याहार सुसार गरिन् । यो क्रममा उनलाई ती परेवाहरूको साधारण घरपालुवा जनावरको झैँ माया लागिसकेको थियो । तसर्थ तिनलाई घरमै राखेर पाल्ने निर्णय गरिन् । उनले ती दुईको नाम पनि राखिन् । एउटाको नाम स्काई र अर्कोको मुस राखिन् । उनले ती परेवाका लागि आकर्षक डिजाइनका ड्रेस बनाउँछिन् । त्यसका लागि उनी लाखौँ रुपैयाँ खर्च गर्छिन्।
अहिले ती दुई परेवाले निकै विलासी जीवन विताइरहेका छन् । तिनले आफ्नो जन्म दिनमा निकै महँगा उपहार पाउँछन् भने खेलौना पनि धेरै नै छन् । ती दुई परेवा विशेष किसिमले बनाइएका स्ट्रोलरमा बसेर बाहिरी वातावरणसँग घुलमिल हुनका लागि बाहिर जान्छन् ।
उनको यस्तो व्यवहारमा धेरैले आपत्ति पनि जनाएका छन् । कतिले ती परेवालाई ‘उड्ने मुसा’ को संज्ञा दिएका छन् । यद्यपि मेगीले यस्ता कुराको वास्तै नगरी उनका परेवाले अन्य जनावरले झैँ माया पाउनुपर्ने बताउँछिन् ।
मेगीले आफ्ना परेवाको विलासी जीवनशैलीबारे जानकारी दिँदै भनिन्, ‘उनीहरूको आफ्नै बेडरुम छ । यहाँ उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने विभिन्न वस्तु राखिएका छन् । उनीहरूका थुप्रै खेलौना र विशेष खालका पहिरन छन् । उनीहरूले विलासी जीवन बाँचिरहेका छन् ।’
‘यी दुई परेवाका लगभग १७ सेट लुगा छन् । ती लुगाका प्रत्येक सेटलाई २५ देखि ३० पाउन्ड (४ देखि ६ हजार रुपैयाँ) पर्छ ।
Comments