विश्वकै ठूलो ६४ केजीको सुनको औंठी!
३० लाख अमेरिकी डलर मूल्य बराबरको विश्वकै ठूलो सुनको औंठी सयुक्त अरब इमिरेट्सको सारजाहमा सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरिएको छ।
झण्डै १८ बर्षअघि बनाइएको औंठीको अवलोकनका लागि आउने र फोटो खिच्नेको घुइँचो नै लागेको छ । अवलोकन र फोटो खिच्नैका लागि दैनिक दुवई, अबुधावी लगायत सातै इमिरेट्समा रहेका हजारौँको भीड लाग्ने गरेको छ । ‘नाजमत ताइवा’ नाम दिइएको सो औंठी सारजाह स्थित सहारा सेन्टर नामक सपिङ्ग मलमा सज्जाको साथ राखिएको छ।
विश्वको सबैभन्दा ठूलो औंठीको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा सो औंठीको नाम लेखिएको छ । २१ क्यारेट सुनबाट बनाइएको यो औंठीको तौल ६४ किलोग्राम रहेको छ भने यसमा ५ दशमलव १ केजी स्टोन र हिराको समिश्रण रहेको बताइएको छ । ५५ जना कालिगढले दैनिक १० घण्टाको दरले ४५ दिनमा निर्माण गरेको यो औंठी दुवई स्थित ताइवा नामक कम्पनीको हो।
सन् २००० मा बनेको औंठीको निर्माण खर्च करिब ५ लाख ४७ हजार अमेरिकी डलर परेको थियो, जुन बेला सुनको मुल्य प्रति औंश २ सय ५० अमेरिकी डलर थियो । हाल सुनको मुल्यले डाडो काटेर प्रतिऔंश १ हजार ४ सय ९८ को हाराहारीमा पुग्दा औंठीको मूल्य पनि ३० लाख अमेरिकी डलर बराबर हुन पुगेको ताइवाले बताएको छ।
Comments