प्रेम वा विवाह असफल भए के गर्ने ?

विवाह भएपछि सधै मधुमासको अवस्था रहिरहन्छ भन्नु वा पीडा, डर र त्रासको वातावरण रहिरहन्छ भन्ने सोच्नुलाई अति मानिन्छ । सुख र दुःख एउटै सिक्काका दुइपाटा भएकाले ती सँगै छन् र दुवैलाई स्वीकार्नुवाहेक अर्को उपाय छैन । सुखलाई त हामी खोजी–खोजी सहजै स्वीकार्छौ, तर दुःख चाहदैनौं । दुःखलाई पनि स्वीकार्ने बानी भएमा जिन्दगी सहज हुन्छ । दुःखलाई नस्विकारे अर्को उपाय पनि त छैन ।

मनोविज्ञानमा काल्पनिक रुपमा गुमाउने डर (हाइपोथेटिकल लस) पुरुष वा महिला दुवैमा हुन्छ । जस्तै श्रीमानले कुनै महिलासँग कुरा गर्दा वा टेलिफोन÷मोबाइलवाट कुरा गर्दा पनि अर्कैसँग प्रेममा फसेर मलाई छोडछन कि भन्ने डर हुन्छ । श्रीमानको मोवाइल चेक गर्ने, थाहा नपाउने गरी चियोचर्चा गर्ने पनि विवाहित महिलाहरु छन । श्रीमानले श्रीमती घरमै छन् कि छैनन भनेर पटकपटक फोन गर्ने पनि छन् । अत्यधिक शंका गर्ने र नाजायज सम्बन्ध नै छ भनेर हँुदै नभएको कुरा गर्ने श्रीमती वा श्रीमान छन् भने काउन्सिलिङ र औषधि उपचार नै गर्नु पर्छ ।

युवायुवतीहरुले प्रेमसम्बन्ध गाँस्नुपूर्व धेरै कुराको ख्याल गर्नुपर्छ । हतार–हतार गाडी छुट्लाजस्तो गरेर प्रेमसम्बन्ध गाँस्नु जरुरी छैन । आफ्ना ईच्छा, चाहना, आवश्यकता, घरको वातावरण आदिबारे एकले अर्कालाई बताउनु पर्छ । आखीर प्रेम गाँस्नु भनेको एकले अर्कालाई राम्रोसँग चिन्ने, बुझ्ने र मन पर्ने भएर भविष्यमा विवाह वन्धन गाँस्नको लागि हो । विवाह भएको १–२ महिनामै मनमुटाव, झगडा, विवाद र मानसिक तनावमा पर्ने अवस्था आउन नदिन सकभर दुवैजनाले प्रयास गर्नुपर्छ ।

शाक्यमुनि बुद्धको एउटा भनाई छ, ‘कामवासनाले दुःख निम्त्याउँछ, कामवासनाले त्रास निम्त्याउँछ, तर जो कामवासनाबाट मुक्त रहन्छ, त्यहाँ दुःख पनि रहँदैंन र त्रास पनि ।’ आफ्ना वासनावाट मुक्त हुन सक्नु त धेरै ठूलो कुरा हो, सन्तहरु वा ज्ञानीहरुले मात्र सक्छन होला । सामान्यजनमा यो सम्भव छैन । विवाहपूर्व धेरैको सोचाई ‘यौनसम्वन्ध राखेर तृप्ति हुन्छ’ भन्ने छ कि ? वासनाहरुको तृप्ति हुँदैन बरु ती त बढदै जान्छन् ।

मैले कुनै कितावमा पढेको थिएँ– जीवनका २ दुर्भाग्य : (१) एउटाले आफूले प्रेम गर्ने जीवनसंगी पाउँदैंन (२) अर्कोले आफूले प्रेम गर्ने जीवनसंगी पाउँछ । भनिन्छ, दोस्रो दुर्भाग्य बढी खराब हुन्छ । शायद कुनै पनि दोष नभएको न श्रीमान हुन्छ न त श्रीमती हुन्छ, भन्न खोजेको होला ।

त्यसो भए प्रेममा, प्रेम विवाहमा वा मागी विवाहमा पनि कसरी सफल हुने त ?

–   धेरै महत्वाकांक्षी नहुनुस् र सबै इच्छा पूरा हुन सक्दैनन् भन्ने तथ्यलाई स्वीकार्नुस्।

–   मैेले भनेकै हुुनुपर्छ भन्ने जिद्धी नगर्नुस् । प्रेमसम्बन्ध सुमधुर राख्न वा विवाह सफल पार्न दुवैको समझदारी चाहिन्छ ।

–   आफूभित्र पनि कमजोरी छ कि ? आफ्नो दोष छ कि ? हेर्ने गर्नुस र आफ्नो दोष सुधार्ने प्रयास गर्नुस् ।

–    कुनै दोष नभएको श्रीमान वा श्रीमती हँुदैन, यस्तै हो, ‘अगाडि बढौं’ भन्ने गर्नुहोस । अन्त्यमा जर्ज गर्जिफको भनाईलाई राख्न चाहन्छु– ‘एक मानव लामो समयसम्म एकै रहँदैंन, उ निरन्तर परिवर्तन हुन्छ, उ आधाघण्टा पनि एकैरहन सक्दैन ।’ (अ म्यान इज नेभर दि सेम फर लङ, हि इज कन्टिन्युअल्ली चेन्जिङ, हि सेल्डम रिमेन्स दि सेम इभन फर हाफ एन आवर)

यहाँ म्यान अर्थात् मानव भनेको पुरुष र स्त्री दुवैलाई हो । मानिसको शरीरमा र मनमा प्रत्येक क्षण परिवर्तन आइरहेको हुन्छ । बाहिरबाट हेर्दा उही देखिएपनि शरीर, विचार, भावना आदि सवै क्षण–क्षणमै परिवर्तन भइराखेको हुन्छन्, जुन उसको वोली र व्यवहारमा देखिन्छ । अप्रत्यासित नौलो व्यवहार देखिने कारण यही हो ।

Comments

Back to top