विश्वको सबैभन्दा अग्लो एटिएम!

विश्वको सबैभन्दा अग्लो क्यास मेसिन चीन र पाकिस्तान बीचको खुञ्जेरब पास सीमामा ४,६९३ मिटरको उचाइमा अवस्थित छ । पछिल्ला केही दशकमा एटिएम विश्व प्रविधिको अभिन्न अंग बनेको छ तर ट्रेकिङ गरिरहेका बेला हिँउले ढाकेको पहाडका बीचमा एटिएम मेसिनको सायदै कसैले कल्पना गर्ला ।

तर पाकिस्तानको उत्तरी गिल्जिट–बाल्टिस्टान प्रान्तस्थित खुञ्जेरब पास बोर्डरमा विश्वको सबैभन्दा अग्लो पूर्ण रुपमा सञ्चालनमा आइरहेको एटिएम छ । नेशनल बैंक अफ पाकिस्तानले सन् २०१६ मा राखेको यो एटिएम मेसिन सौर्य र वायु ऊर्जाबाट सञ्चालित हुन्छ। यस्तो एकान्त ठाउँमा एटिएम मेसिन देखिनु साँच्चै नै असामान्य दृश्य हो।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वको सबैभन्दा अग्लो एटिएम मेसिन भनेर मान्यता दिएको यसलाई स्थापना गर्नु कम्ती चुनौतीपूर्ण थिएन । यो पूरा गर्न नेशनल बैंक अफ पाकिस्तानलाई करिब चार महिना लाग्यो । मेसिनलाई नियमित रूपमा नगदको साथ मर्मत र रिफिलिङ प्रदान गर्नु पनि एक कठिन काम हो, किनकि नजिकैको बैंक पनि ८२ किलोमिटर टाढा छ ।

विश्वको सबैभन्दा अग्लो एटीएमको नजिक रहेको सोस्ट एनबीपी शाखाका शाखा प्रबन्धक जाहिद हुसेन नियमित रूपमा मेसिनको निगरानीमा जान्छन् । उक्त एटिएम मेसिनसम्म पुग्न उनले चरम हावा, आँधी, बारम्बारको पहिरो र डरलाग्दा पहाडी मार्गहरू पार गर्नुपर्ने हुन्छ ।

पाकिस्तानको नेशनल बैंकका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा आपतकालीन मर्मतको आवश्यकता पर्दा विश्वको सबैभन्दा अग्लो एटीएममा पुग्न सामान्यतया दुईदेखि साढे दुई घण्टा लाग्छ । यहाँको चरम अवस्थालाई ध्यानमा राख्ने हो भने यो खासै धेरै समय पनि होइन । यो मेसिनमा निकै कम ट्रानज्याक्सन भएपनि यसमा निर्भर मानिसहरुलाई ध्यानमा राखेर बैंकले यसलाई गम्भीरताका साथ लिने गरेको छ।

एजेन्सी

Comments

Back to top