जागिरमा ३० पटक असफल भएका ज्याक मा कसरी सफल बने?

 ‘जब केएफसी कम्पनी चीनमा आएको थियो । तब जागिर पाउनका लागि २४ जना व्यक्ति अन्तरवार्तामा थिए । उनीहरुमध्ये २३ जना छनोट भए । केवल म अस्वीकृत भएँ,’ चीनका सर्वाधिक धनी व्यक्ति ज्याक मा आफ्नो जीवन संघर्षबारे बोल्नुपर्दा अक्सर यो अनुभव छुटाउँदैनन् । उनी स्कुले जीवनमा दुईपटक प्राथमिक तह र तीनपटक माध्यमिक तहमा फेल भएका थिए । तर यसले निराशा होइन, लडाकु क्षमता बढायो । 

विश्वचर्चित पत्रिका फोब्र्सकाअनुसार उनी एसियाका धनाढ्य व्यक्तिहरुको सूचीमा भारतका मुकेश अम्बानीपछि अहिले दोस्रो स्थानमा छन् । उनको कुल सम्पत्ति ३८ दशमलव २ अर्ब अमेरिकी डलर छ । अलिबाबा ग्रुपका संस्थापक ज्याक चीनको एउटा सानो गाउँमा १० सेप्टेम्बर १९६४ मा जन्मिएका थिए । उनको बाल्यकाल गरिबीमा बितेको थियो । बाल्यकालमा इंग्लिस भाषा सिक्न र बुझ्न उनलाई निकै रहर लाग्थ्यों । यद्यपि, विद्यालयहरुमा चिनियाँ भाषामै पठन–पाठन हुन्थ्यों । तर ज्याक माले विदेशबाट आउने पर्यटकहरुसँग अंग्रेजी सिके र बिस्तारै टुटे–फुटेको भाषा बोलेर टुरिस्ट गाइडको भूमिका निर्वाह गर्न थाले ।

उनको वास्तविक नाम ‘मायून’ थियो, तर पर्यटकहरुलाई यो नाम उच्चारण गर्न मुस्किल पथ्र्यों । त्यसैले एक पर्यटकले नै उनलाई नाम दिए– ‘ज्याक’ । १३ वर्षदेखि टुरिस्ट गाइडको काम थालेका ज्याकले ९ वर्षसम्म यही कामलाई निरन्तरता दिए, जसकारण पढाईमा पर्याप्त ध्यान दिन सकेनन् र प्राथमिक तहमा दुई र माध्यमिक तहमा तीन पटकसम्म फेल भए ।

त्यसका बाबजुद उनले हरेश खाएनन् । स्कुले शिक्षा सकेर शहर छिरेपछि कलेजमा दुई पटकसम्म प्रवेश परीक्षामा उनी असफल भए, तेस्रोपल्ट बल्ल भर्ना मिल्यो । ज्याक माले कलेज जीवनका दौरानमा अमेरिकाको प्रसिद्ध हाभर्ड विश्वविद्यालयमा भर्नाका लागि आवदेन दिएका थिए, तर १० पटक आवेदन दिँदा पनि उनलाई भर्ना मिलेन  ।  यतिमात्रै होइन, जागिर खोज्दा ३० भन्दा धेरै पटक उनी अस्वीकृत भए । ‘प्रहरीमा जागिर खान जाँदा मलाई फिट छैनौं भने । केएफसी भर्खरै चीनमा आएको थियो, निवेदन दिएका २४ जनामध्ये २३ जना छानिए, म छुटें,’ उनी भन्छन् । 

१९९४ मा ज्याकमाले इन्टरनेटबारे सुने, अनि आफ्नो पहिलो कम्पनी– हाङझोउ हाइबो ट्रान्सलेशन एजेन्सी दर्ता गरे । १९९५ को सुरुवातमा उनी आफ्ना साथीहरुसँग अमेरिका भ्रमणमा गए । त्यहाँ उनले इन्टरनेटबारे सिके । यही क्रममा उनले इन्टरनेटमा बियर (भालु) सर्च गरे । त्यहाँ धेरै देशका भालुका प्रजातीबारे जानकारी राखिएको थियो, तर चीनमा पाइने प्रजातीहरुको नाम नदेख्दा उनलाई अनौठो लाग्यो । त्यसपछि उनले चीनबारे थप जानकारी सर्च गरे, तर केही भेटेनन् । त्यसैले आफ्ना साथीहरुसँग मिलेर उनले चीनबारे जानकारी दिनेगरी वेभसाइट बनाए । बिहान ९ बजेर ४० मिनेट जाँदा उनले यो वेभसाइट लन्च गरेका थिए, १२ बजेर ३० मिनेट जाँदासम्म चिनियाँ लगानीकर्ताहरुले उनीबारे चासो दिएर इमेल गरिसकेका थिए । इन्टरनेटको शक्ति कति हुन्छ भनेर बल्ल ज्याक मालाई थाहा भयो । उनी यही क्षेत्रमा आफ्नो भविष्य खोज्न लागे । 

१९९५ मा ज्याकमा र हि वाइविङले मिलेर चाइना पेजका लागि अर्को कम्पनी सुरु गरे । १० मेइ १९९५ मा उनीहरुले अमेरिकामा चाइनापेज डटकम दर्ता गरे । उनले अमेरिकामा बस्ने साथीहरुको सहयोगबाट चिनियाँ कम्पनीहरुका लागि वेभसाइट तयार गर्ने योजना बनाएका थिए । ‘पहिलोपटक जब हामी इन्टरनेटमा कनेक्टेड भएका थियौं, मैले आफ्ना साथीहरुलाई घरमा बोलाएको थिए र त्यतिबेला डायल अप कनेक्सन निकै ढिलो थियो,’ उनले भनेका थिए, ‘हामीले तीन घण्टा ३० मिनेट कुरेपछि बल्ल आधा पेज खुल्यो । यो समय हामीले टिभी हेर्यौं र तास खेल्यौं । तर म निकै खुसी थिएँ, किनकि मैले इन्टरनेट अस्तित्वमा छ भनेर प्रमाणित गरें । तीन वर्षभित्र यो कम्पनीले ५० लाख चिनियाँ युआन आर्जन गरिसकेको थियो, जुन त्यतिबेला झन्डै ८ लाख अमेरिकी डलर बराबर हुन्थ्यों । १९९८ देखि १९९९ सम्म चाइना इन्टरनेशनल इलेक्ट्रोनिक कमर्श सेन्टरले स्थापना गरेको टेक्नोलोजी कम्पनीलाई ज्याक माले नेतृत्व गरे, यो सरकारी कम्पनी थियो ।

१९९९ मा जागिर छाडेर उनी गाउँ फर्किए, अनि अन्य १७ जना साथीहरुसँग मिलेर अलि बाबा स्टार्ट अप कम्पनी खोले । उनीहरुले ५ लाख युआनबाट यो कम्पनी खोलेका थिए । सुरुवाती चरणमा यो कम्पनीको कार्यालय उनकै अपार्टमेन्टमा थियो । यी दिनहरुमा साथीहरुले गर्ने लगानीबाहेक उनीसँग पुँजीको अर्को माध्यम थिएन । तर, केही समयपछि गोल्डम्यान साच्स र सफ्ट बैंकले यसमा २५ मिलियन डलर लगानी गरे । अलिबाबा डटकमको उद्देश्य आम चिनियाँहरुलाई इन्टरनेटमार्फत व्यापार गर्न सिकाउनु थियो,  विशेषगरी साना तथा मझौला व्यवसाय गर्ने चिनियाँहरुका लागि ई–कमर्श प्लेटफर्म तयार गर्ने उद्देश्य यस कम्पनीले राखेको थियोे । यसले चिनियाँ उत्पादनहरुलाई विश्वव्यापी बजारमा पुर्याउन ठूलो भूमिका खेल्यो ।

१० सेप्टेम्बर २०१८ मा ज्याक माले कार्यकारी अध्यक्ष पदबाट राजिनामा गर्ने घोषणा गरे, थप एक वर्षपछि पद छाड्ने उनको घोषणा थियो, यतिबेलासम्म अलीबाबा ग्रुप होल्डिङ विश्वका ठूला कम्पनीहरुमध्ये एक बनिसकेको थियो । पछिल्लो समय ज्याक मा अलिबाबा फाउन्डेशनमार्फत समाजसेवासँगै आफ्ना विचार–दर्शन फैलाउन सक्रिय छन् । उनको जीवनबाट प्रेरित भएका धेरै युवाहरु असफलतालाई जितेर सफल बनेका छन् । 

Comments

Back to top